एकाध वर्षभित्र सबै नेपालीको घरमा बिजुली पुर्‍याउने अबको लक्ष्य: कुलमान।

काठमाडौं:= नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले एकाध वर्षभित्रै सबै नेपालीको घरमा विद्युत्सेवा पु¥याउने बताउनुभएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो कार्यकालका लागि प्राधिरकणको जिम्मेवारी दिएपछि घिसिङले यस्तो बताउनुभएको हो । बुधबार कार्यभार सम्हाल्दै घिसिङले अहिलेसम्म देशभरी ९२ प्रतशित घरधुरीमा विद्युत् सेवा पुगेको र बाँकी रहेका क्षेत्रमा एकाध वर्षभित्रै पुर्‍याउने बताउनुभयो । उहाँले तराईका क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि प्रणालीको स्थापना गर्ने आफ्नो योजना रहेको बताउनुभएको छ ।

देशभित्र नै बिजुली खपत गर्ने योजनाका साथ काम गर्ने उल्लेख गर्नु हुँदै उहाँले गुणस्तरीय बिजुली उपभोग गर्न पाउने नागरिकको अधिकारलाई सकेसम्म सम्बोधन गर्ने बताउनुभयो । बचेको बिजुलीमात्रै भारत र बंगलादेशमा बेच्न सकिने उहाँको भनाइ छ । यस्तै, दोस्रो अन्तरदेशीय प्रसारण लाइनको रूपमा रहेको न्यू बुटवल गोरखपुर प्रसारण लाइनको कामसमेत छिट्टै सुरु हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । निजी क्षेत्रलाई अर्धजलाशयुक्त प्रकृतिका आयोजनामा अगाडि बढ्न आफूले सुझाब दिएको भन्दै त्यस्ता आयोजनाले मात्रै राष्ट्रिय आवश्यकताको सम्बोधन गर्ने उहाँको भनाइ छ ।

चुनौती धेरै छन् तर स्वीकार गर्दै अगाडि बढ्छु

कार्यकारी निर्देशक घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्णरूपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय सुरु गरेको तथ्य पेश गर्दै घिसिङले भन्नुभयो, ‘यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन । हामी सबै मिलेर काम गरौं । देश, जनता र राष्ट्रका अपेक्षा पूरा गर्न सकिन्छ ।’

आफूले प्राधिकरण छाडेर गएपछि सुरु भएका सकारात्मक कामलाई अगाडि बढाउने र गलत काम भएका छन् भने त्यसलाई सुधार गरेर अगाडि बढ्ने उहाँले आफ्नो कार्ययोजना रहेको सुनाउनुभयो । अघिल्लो पटकभन्दा यसपटक जनताको अपेक्षा बढेको, ऊर्जाको क्षेत्रमा धेरै नयाँ काम गर्नुपर्ने दायित्व थपिएको घिसिङको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मेरो व्यक्तिगत जीवनकै लागि यो सबैभन्दा ठूलो चुनौती हो । नयाँ जोशका साथ काम गरौं, काँधमा काँध मिलाएर अगाडि बढौं, विगतभन्दा ठूला सफलता पाउन सकिन्छ ।’

तत्कालीन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७३ भदौ ३० गते घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । चार वर्षे कार्यकाल पूरा गरेर २०७७ भदौ २८ गते उहाँले अवकाश पाउनुभएको थियो ।

आम जनताले प्राधिकरणका पुनः घिसिङ आउनुपर्ने चर्को माग गरे पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले उहाँलाई जिम्मेवारी दिएको थिएन् । मन्त्रिपरिषद्मा पुगेको पुनः नियुक्तिको प्रस्तावसमेत अस्वीकृत भएको तत्कालीन ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रूपमै बताउनुभएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उहाँलाई बुधबारमात्रै ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्कीले नियुक्तिपत्र दिनुभएको हो । प्राधिकरणका कार्यकारी निर्देशक रहनुभएका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणी बराबरको सुविधा उपलब्ध गराउने गरी पूणर्कालीन सदस्यका रूपमा नियुक्त गरिएको छ ।

नवनियुक्त कार्यकारी निर्देशक घिसिङले शाक्य र आफ्नो नियुक्ति फरक–फरक ठाउँमा एकैपटक भएको जानकारी दिँदै उहाँको (शाक्य) को विज्ञतालाई सरकारले ऊर्जा क्षेत्रको विकासमा प्रयोग गर्न लागेको अर्थमा बुझेको बताउनुभयो ।

तार र पोलरहित शहर बनाउने योजना

घिसिङले तार र पोलरहित शहर बनाउने योजनाका साथ अगाडि बढाइएका कामलाई प्रथामिकता दिइने बताउनुभयो । काठमाडौं उपत्यकामा भइरहेको बिजुलीको तार भूमिगत गर्ने काम प्रभावकारी हुन नसकेको तर्फ चिन्ता व्यक्त गर्नु हुँदै घिसिङले निर्माण व्यवसायीलाई बोलाएर छलफल गर्ने जानकारी दिनुभयो । प्राधिकरणले प्रवाह गर्ने सेवामा कुनै कमजोरी हुन नहुने भन्दै उहाँले राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्डको व्यवस्थासमेत कडाइका साथ लागू गर्ने घोषणा गर्नुभयो ।

उहाँले गलत गर्नेलाई कुनै हालतमा छुट नदिने र कुनै पनि प्रकारको सम्झौता नगरिने दृढता व्यक्त गर्नुभयो । प्राधिकरणलाई अझै सबल संस्था बनाउन सकिने विश्वास व्यक्त गर्दै उहाँले सबै मिलेर काम गरेको खण्डमा सुविधासमेत क्रमशः वृद्धि हुँदै जाने स्पष्ट पार्नुभयो । उहाँले आफूलाई कार्यकारी निर्देशकका रूपमा पुनः नियुक्ति दिने नेपाल सरकार, ऊर्जा मन्त्रालय र नेपाली जनतालाई धन्यवाद दिँदै सकारात्मक कामका लागि सबैको साथ र सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

निर्माणाधीन आयोजना सम्पन्न गर्ने अठोट 

प्राधिकरणमा आयोजित पदबहाली समारोहलाई सम्बोधन गर्दै उहाँले निर्माणमा रहेका आयोजनालाई शीघ्र सम्पन्न गराउनेतर्फ आफ्नो विशेष पहल रहने उल्लेख गर्नुभयो । प्राधिकरण आफैंको आयोजना नभए पनि सहायक कम्पनीमार्फत अगाडि बढाइएका आयोजना लामो समयसम्म अगाडि बढ्न नसक्दा लागत र समय दुवै बढेको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले अगाडि बढाएका आयोजनालाई आगामी एक वर्षभित्र पूरा गर्नेगरी काम गर्ने उहाँको भनाइ छ ।

रसुवागढी, माथिल्लो साञ्जेन, तल्लो साञ्जेन र मध्य भोटेकोशी जस्ता आयोजना चिलिमेका सहायक कम्पनीमार्फत अगाडि बढेका छन् । यस्तै, राहुघाट, माथिल्लो त्रिशूली थ्री–बी जस्ता आयोजनासमेत समयमै सम्पन्न गराउनेतर्फ आफू लाग्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

यस्तै अन्य केही ठूला आयोजनाको काम सुरु गर्नेगरी आवश्यक तयारी भइरहेकोसमेत उहाँले जानकारी दिनुभयो । माथिल्लो अरुण, दूधकोशी, तामाकोशी पाँचौं र चैनपुर सेतीको वित्तीय व्यवस्थापन गरेर सकेसम्म स्वदेशी लगानीमा नै अगाडि बढाउने योजनासमेत उहाँले सुनाउनुभयो ।

माथिल्लो तामाकोशी सञ्चालनमा आउँदा त्यसले वार्षिक रूपमा झण्डै २० अर्ब बराबरको आम्दानी गर्ने भएकाले ठूला आयोजना अगाडि बढाउन स्रोतको कुनै अभाव नहुने उहाँले उल्लेख गर्नुभयो । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत संस्थाबाट ऋण लिएर भए पनि आयोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने उहाँको भनाइ छ ।