इरानद्वारा अफगानिस्तानसँगको प्रमुख सीमानाका बन्द।

देहरान:= इरानले अफगानिस्तानमा हिंसात्मक गतिविधि वृद्धि भएपछि एक प्रमुख सीमा बन्द गरेको छ । इरानले आइतबार सिस्तान र बलुचिस्तानको मिलाक जिल्लालाई अफगानिस्तानसँग जोड्ने सीमा बन्द गरेको हो ।

इरानले सीमा क्षेत्र भएर सयौंको संख्यामा युद्ध प्रभावित व्यक्ति इरान प्रवेश गर्न लागेको जनाएको छ । अफगानिस्तानको जाराञ्ज सहरमा विद्रोही तालिवानले आक्रमणका घटनामा वृद्धि गरेकाले नजिकको इरानी सीमा तत्कालका लागि बन्द गरिएको छ । इरानले सीमा क्षेत्रको अवस्था शान्त रहेको र आउन सक्ने जोखिमलाई लिएर प्रहरी, सीमा सुरक्षा बल र सेनालाई तैनाथ गरिएको जनाएको छ ।

यता अफगानिस्तानमा तालिवान विद्रोहीले मुख्य सहर सेवरगानलाई नियन्त्रणमा लिएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त जोज्जानमा रहेको मुख्य सहर सेवरगान विद्रोहीको कब्जामा गएको हो ।

विद्रोहीको कब्जामा पुगेको यो दोस्रो प्रान्तीय सहर हो । त्यहाँको रक्षा मन्त्रालयका प्रवक्ताले भने सो सहरमा अझै पनि सरकारी सेना तैनाथ रहेको दाबी गर्दै विद्रोहीको कब्जाबाट सहर फिर्ता हुने विश्वास व्यक्त गरेका छन् ।

यसअघि विद्रोहीहरूले दक्षिणपश्चिम प्रान्त निम्रोवको जाराञ्ज सहर नियन्त्रणमा लिएका थिए । यस्तै उत्तरी भागमा रहेको कुन्दुज र लस्कर गाह सहर आफ्नो नियन्त्रणबाहिर गएपछि अफगान सेनाले हवाई र स्थलगत आक्रमण गरेपछि त्यहाँ भिडन्त भइरहेको छ ।

भिडन्तमा दुवैतर्फ ठूलो मानवीय क्षति भएको बताइए पनि यकिन विवरण आएको छैन । यसैबीच, अफगानिस्तानको हेलमन्द प्रान्तमा तालिवान विद्रोहीविरुद्धको सरकारी कारबाहीमा मारिनेमा ३० जना पाकिस्तानी नागरिक रहेको खुलासा भएको छ ।

पाकिस्तानले अफगानिस्तानमा आफ्ना नागरिकहरूको संलग्नता अस्वीकार गरिरहेका बेला अफगानिस्तानको रक्षा मन्त्रालयले हेलमन्द प्रान्तमा मारिएका ११२ जना विद्रोहीमध्ये ३० जना पाकिस्तानी रहेको जनाएको हो ।

ती सबै अतिवादी समूह अलकायदासँग आबद्ध रहेको पनि जनाइएको छ । हवाई हमलामा ३१ जना विद्रोही गम्भीर घाइते भएका छन् । पछिल्लो समय तालिवानीहरूले ग्रामीण इलाका नियन्त्रणमा लिँंदै सहरतर्फ अघि बढेका छन् ।

विगत २० वर्षदेखि अफगानिस्तानमा रहेका अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सेना फिर्ता भएदेखि विद्रोहीको आक्रमण तीव्र भएको छ ।