आशिषको गाईजात्रे झटारो ‘बालकोटको बार्दली’

काठमाडौं:= आउँदो भदौ ७ मा परेको गाईजात्रालाई लक्षित गर्दै कलाकार आशिष शाह ठकुरीले ‘बालकोटको बार्दली’ नामक व्यंग्यले भरिएको गाईजात्रा कोसेली सार्वजनिक गर्नुभएको छ ।

राजनीतिक, आर्थिक, सामाजिकलगायत विभिन्न विषयवस्तु समेटिएको ‘बालकोटको बार्दली’ मा वर्षभरि घटेका विषयवस्तु जस्ताको तस्तै व्यंग्यात्मकरूपमा प्रस्तुत गरिएको छ । ‘गाईजात्राको मुख्य उद्देश्य भनेको समाजमा रहेको बेथिति विसंगति औंल्याउनु हो,’ आशिषले भन्नुभयो, ‘त्यही पेरिफेरीमा रहेर यो पटकको गाईजात्रा तयार गरेको छु ।’

पछिल्लो समय रोजगारीको सिलसिलामा कोरिया पुगेका आशिषले ‘बालकोटको बार्दली’ उतैबाट सार्वजनिक गर्नुभएको हो । रेडियो कान्तिपुरको हाँस्यव्यंग्यात्मक कार्यक्रम ‘गज्जब छ बा’, कान्तिपुर टेलिभिजनको हास्य सिरियल ‘ट्वाक्क टुक्क रिटन्र्स’ लगायत थुप्रै सिरियल र स्टेज कार्यक्रममा काम गरेका आशिषको गाईजात्रा कोसेलीमा अर्जुन पौडेलको छायाँकन र प्रविण श्रेष्ठको सम्पादन छ । करिब १३ मिनेटको उक्त व्यंग्यात्मक भिडियोलाई दर्शकले मन पराउनेमा आशिष विश्वस्त हुनुहुन्छ ।