काठमाडौं:= कलाकार दीपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गर्नुभएको छ । लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको गीतमा मैथानेकै शब्द सिर्जना रहेको छ भने म्युजिक र अरेन्ज विलन थापा मगरले गर्नुभएको छ ।
नेपालको गुल्मीमा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका मैथाने व्यस्त समयका बाबजुत पनि सांगीतिक क्षेत्रमा निरन्तर समर्पित हुनुहुन्छ । बेलायतमा छायाँकन गरिएको भिडियोमा वरिष्ठ कलाकार मनिष श्रेष्ठ, पहिलो मिसेस युके नेपाल आस्था जोशी, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बूको अभिनय रहेको छ । ‘बैगुनी’ को निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गर्नुभएको हो । करिब डेढ दशकदेखि पत्रकारितासँगसँगै भिडियो निर्देशनमा पाइला चाल्नुभएका निर्देशक कुशलकै छायाँकन र सम्पादन रहेको भिडियोको कलरिङ नवीन निरौलाले गर्नुभएको हो ।
बेलायतका रमणीय र प्रसिद्ध स्थानहरूमा छायाँकन गरिएको भिडियोमा प्रेम बिछोडमा हुने विभिन्न ढंगबाट निर्देशक कुशलले गज्जबसँग भिडियोमा देखाउनुभएको छ । साउथ हृयारोस्थित हाम्रो चौतारी रेष्टुरेन्टमा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले भिडियो सार्वजनिक गर्नुभएको हो ।




















