काठमाडौं:= नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघ (एनआइटिएफ) ले पुरुषमा भीमबहादुर तामाङ र महिलामा वसन्ती बुढामगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ । नेपाल आर्मीका भीम र बाग्लुङकी वसन्तीले रोल्पा राष्ट्रिय भर्चुअल पुम्से प्रतियोगिताको दुई फरक संस्करणमा स्वर्ण जित्नुभएको थियो ।
एनआइटिएफको २४औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको साङलास्थित साइनो स्पोर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा उनीहरूलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरिएको हो । सोही अवसरमा नेपालगञ्जका वीरेन्द्रबहादुर शाही उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित हुनुभयो । तीनैले प्रशंसा पत्रसहित जनही १५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।
काठमाडौंका मनोज खड्गी आउट स्टेन्डिङ प्रशिक्षक, रोल्पा उत्कृष्ट संघ र झापाका नवीन तामाङ उदीयमान प्रशिक्षकको अवार्डबाट सम्मानित हुनुभयो । उहाँहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । विगत ३० वर्षदेखि हालसम्म आइटिएफ तेक्वानदोमा सक्रिय रहनुभएकी नेपालगञ्जकी ५४ वर्षीया फात्तिमा बानुलाई पनि विशेष अवर्डाबाट सम्मान गरिएको थियो ।
उहाँहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपका निमित्त सदस्य–सचिव एकेन्द्र कुँवर, बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी र एनआइटिएफका अध्यक्ष अञ्जन धमलाले पुरस्कृत गर्नुभयो । त्यसअघि वार्षिकोत्सवको उपाध्यक्ष कोइरालाले उद्घाटन गर्नुभएको थियो ।
एनआइटिएफले हरेक वर्ष आफ्नो स्थापना दिवसका अवसर विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सोही क्रममा उक्त कार्यक्रम पनि आयोजना गरिएको हो । त्यसै अवसरमा सिनियर डान ग्रेडिङबाट पाँचजना छैटौं डानमा पदोन्नति भएको जानकारी दिइयो । तेस्रो र चौथो डानका लागि ग्रेडिङ सञ्चालन भइरहेको संघले जनाएको छ ।




















