एजेन्सी := यापर हनी सिंहमाथि उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी छन् । दिल्लीको तीस हजारी कोर्टमा दायर गरिएको १२० पन्नाको रिट निवेदनमा कयौँ आश्चर्यजनक खुलासा उनले गरेकी छन् । शालिनीले आफ्नो रिट निवेदनमा हनी सिंह मात्र नभएर सासू भूपिन्दर कौर र ससुरा सबरजीत सिंह र भाउजु स्नेहा सिंहमाथि पनि आरोप लगाएकी छन् ।
शालिनीले आफ्नो पतिको परिवारले गरेको अत्याचारको विरुद्ध सुरक्षा आदेश र अन्य राहतको माग गरेकी छिन् । रिट निवेदनमा शालिनीले एक घटनाबारे उल्लेख गर्दै ससुरामाथि पनि गलत हरकत गरेको आरोप लगाएकी छन् । शालिनीका अनुसार हनी सिंहका पिता बिना कुनै काम उनको कोठामा आउने गर्थे र एक पटक कपडा फेर्दै गर्दा कोठा आएर गलत तरिकाले छुन खोजेका थिए ।
हनी सिंहको कयौँ युवतीहरूसँग सम्बन्ध रहेको पनि शालिनीको आरोप छ । उनका अनुसार ‘ब्राउन रङ्ग दे’ गीतको सुटिङका क्रममा उनले हनी सिंहलाई यौन क्रियाकलापमा लिप्त रहेको बेला रङ्गे हात समातेकी थिइन् । त्यतिबेला हनी सिंहले आफूमाथि रक्सीको बोतल फालेको उनको दाबी छ ।




















