बेलायतमा १ खर्ब बढीको लगानीमा फिल्म स्टुडियो बनाइने।

एजेन्सी:= अहिले कोरोना महामारीले विश्वकै चलचित्रक्षेत्र थलिएको अवस्थामा हलिउडमा भने ठूलो लगानीमा फिल्म स्टुडियो बन्ने भएको छ । बीबीसीका अनुसार हलिउडले बेलायतमा सात सय मिलियन पाउण्ड अर्थात् नेपाली एक खर्ब १५ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ खर्चेर ‘वल्र्ड क्लास’ फिल्म र टिभी स्टुडियो बनाउने घोषणा गरेको छ ।

लस एञ्जलसस्थित सनसेट स्टुडियो र एउटा लगानी फर्मले यूकेस्थित हार्टफोर्डसिरमा ९१ एकर जमिन १२० मिलियन पाउण्डमा किनिसकेको छ । निर्माणको अनुमति पाएसँगै ब्रोक्सबोर्नमा भवन निर्माण गरिनेछ । यसमा यूके सरकारको पूर्ण समर्थन रहेको छ ।

बेलायती डिजिटल, संस्कृति, मिडिया र खेल राव्य सचिव ओलिभर डाउडेनले नयाँ स्टुडियोले बेलायतको फिल्म र टिभी उद्योगलाई महत्वपूर्ण योगदान गर्ने बताउनुभएको छ । लस एन्जलसस्थित स्टुडियोका मालिक र अपरेटर हडसन प्यासिफिक ब्ल्याकस्टोन कम्पनीसँग सहकार्य गरेर यो काम सुरु गर्न लाग्नुभएको हो । यी कम्पनीहरूले स्थानीय अर्थव्यवस्थामा वार्षिक ३ सय मिलियन पाउण्ड योगदान पुग्ने र साढे चार हजार जनालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ ।