यूएईका बालबालिकालाई चिनियाँ खोप।

युएई(दुबई):= संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो ।

मन्त्रालयका अधिकारीहरूका अनुसार ३ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइने भएको हो । खोपका बारेमा गरिएको चिकित्सकीय परीक्षणबाट प्राप्त नतिजाका आधारमा बालबालिकालाई पनि खोप लगाउन सकिने निष्कर्ष निकालिएको अधिकारीले जनाएका छन् ।

बालबालिकालाई कोरोनाभाइरसविरुद्धको खोप लगाउन अरू देशहरूले आँट नगरिरहेका बेला यूएईले गरेको निर्णयबाट धेरैलाई खुशी तुल्याएको छ । चीनमा विकास गरिएको र विश्वका धेरै देशमा प्रयोग भइरहेको सिनोफार्म खोप यूएईमा पनि उत्पादन गर्न थालिएको छ ।

यता कोरोना संक्रमण पुनःफैलिन थालेपछि चीन सरकारले पछिल्लो पटक सुरु गरेको खोप अभियान स्कुलमा अध्ययनरत विद्यार्थी लक्षित गरेको छ । गत जनवरीयता बुधबार चीनमा सबैभन्दा धेरै ७१ जना नयाँ संक्रमित फेला परेका थिए । डेल्टा भेरियन्टको संक्रमण रोक्न चीनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लक्षित खोप अभियान सुरु गरेको हो । चीनको १६ वटा प्रान्तहरू र केही नगरपालिकामा डेल्टा संक्रमण फैलिएको छ ।

चीनको शिक्षा मन्त्रालयले स्थानीय अधिकारीलाई स्कुलका विद्यार्थी केन्द्रित खोप अभियान चलाउन निर्देशन दिएका छन् । चीन सरकारले यो वर्षको अन्त्यसम्ममा आफ्ना ८५ प्रतिशत नागरिकलाई खोप दिइसक्ने लक्ष तय गरेको छ । विज्ञहरूले चीनमा संक्रमण नियन्त्रणमै रहे पनि सामाजिक दूरीको पालानासँगै खोप र अन्य उपायलाई पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न जोड दिएका छन् ।

यस्तै चीनले चीनले आगामी चार महिनाभित्र ११ करोड डोज कोभिडविरुद्धको खोप कोभ्याक्स संयन्त्रमार्फत अन्य मुलुकलाई वितरण गर्ने भएको छ । आसियान मुलुकहरूको भर्चुअल सम्मेलनपछि चिनियाँ विदेश मन्त्रीले यस्तो घोषणा गर्नुभएको हो । आगामी तीन वर्षमा तीन बिलियन डलर अन्तर्राष्ट्रिय सहायताको प्रतिबद्धता पनि चिनियाँ विदेशमन्त्री वाङ यीले गर्नुभएको छ । चीनले पछिल्लो समयसम्म ७५० मिलियन डोज खोप वितरण गरिसकेको छ ।

साथै, चीनले क्यूवाविरुद्ध अमेरिकाले लगाएको नाकाबन्दीलाई तत्काल हटाउनसमेत आग्रह गरेको छ । नाकाबन्दी लगाएर अमेरिकाले दोहोरो चरित्र अपनाएको आरोप चीनले लगाएको छ ।