काबुल:= अफगानिस्तान सुरक्षाकर्मीले गरेको कारबाहीमा कम्तीमा ३०३ तालिवान मारिएका छन् । सुरक्षाकर्मीको कारबाहीमा थप १२५ तालिवान विद्रोही घाइते भएका छन् ।
विभिन्न प्रान्तमा चलाइएको कारबाहीमा भारी संख्या तालिवान विद्रोही मारिएको बताइएको छ । नानगढ, लघमान, गजनी, पक्तिका, कान्धार, जाबुल, हेरात, जौजन, समानगन, फरयाबलगायतको प्रान्तमा कारबाहीको क्रममा ठूलो संख्यामा तालिवान विद्रोही मारिएको बताइएको छ ।
सुरक्षाकर्मीबाट ११६ जिल्लाको नियन्त्रण खोस्न तालिवानले संघर्ष गरिरहेको छ । सुरक्षाकर्मीको नियन्त्रणमा मात्र ६८ मा नियन्त्रण कायम रहेको बताइएको छ । ३४ मध्ये १७ प्रान्तको राजधानीमा तालिवान विद्रोहीको प्रभाव रहेको बताइएको छ । लडाकूको आश्रयस्थल र उनीहरूले गरिरहेका गतिविधिका बारेमा प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको बताइएको छ । अफगानिस्तानका धेरै शहरमा लामो समयदेखि सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकूका बीचमा झडप तथा भीडन्त भइरहेको छ ।
अमेरिका र अफगानिस्तानले हवाई हमला जारी राखे पनि विद्रोहीहरूले निरन्तर आक्रमण गरिरहेका छन् । भीडन्तबीच विभिन्न शहर तालिवानको पकडमा पुग्ने चिन्ता व्यक्त गर्न थालिएको छ । २० वर्ष अफगानिस्तानमा रहेर सैन्य कारबाही गरेको अमेरिकाले आफ्ना सैनिक फिर्ता लान थालेसँगै तालिवानले देशमा आफ्नो पकड मजबुत बनाउन थालेको हो । तालिवानले टेलिभिजन स्टेसनलाई कब्जामा लिइसकेको बताइएको छ ।
लगातारको लडाइँका कारण सर्वसाधरणलाई निकै अप्ठेरो पारेको र अधिकांश मानिस हिँडडुल गर्न डराएको बताएका छन्। चिकित्सा परोपकारी संस्था एमएसएफका डाक्टर मसुद खानका अनुसार गम्भीर घाइते भएर अस्पताल आउने बिरामीहरूको संख्या बढिरहेको छ ।
उहाँले अन्य कैयौं घाइतेहरू अस्पतालसम्म आउन पनि डराइरहेको बताउनुभयो । उहाँको भनाइमा त्यस क्षेत्रमा औषधि र मेडिकल सामानको अभाव हुन थालेको छ । अफगानिस्तानमा लामो समयदेखि चलिरहेको गृहयुद्धका कारण हजारौंका मृत्यु भएको छ भने लाखौं मानिस पीडित भएका छन् ।




















