सजिलो त छैन, तर अवसर पाए राजनीतिमा पनि आउन सक्छु: पुर्व कप्तान पारस खड्का।

काठमाडौं:= नेपाली क्रिकेट राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले आफ्नो भावी योजना सुनाएका छन् । सन्न्यासपछि पहिलो पटक पत्रकारहरूसँग प्रस्तुत भएका पारसले आफ्ना अरु पनि भावी योजना सुनाए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट आज होटेल हिमालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो भावी योजना बताएका हुन्।

पारसले आफू राजनीतिमा पनि आउनसक्ने संकेत गरेका छन् । राजनीतिमा आउने बारे उनले भने, ‘पक्कै पनि सजिलो छैन । चुनावी प्रक्रियाबाट आउनुपर्ने हुन्छ । जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म आउनुपर्ने हुन्छ । आएर पनि एक्लैले गर्न सक्छु भन्ने होइन । सबैको सहयोग चाहिन्छ ।’ उनले आफ्नो पहिलो प्राथमिकता भनेको नै एकेडेमीमा समय दिने रहेको सुनाए ।

उनले भने,‘मेरो पहिलो प्राथमिकता एकेडेमीमा समय दिने हो । यसको अलावा म क्रिकेट संघमा काम गर्नपनि ईच्छुक छु ।’ उनले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने पनि सम्भावना सुनाए । खड्काले क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर लैजाने योजना पनि साझा गरे । उनले भने,‘म क्रिकेटबाट टाढिएको होइन, अब बेग्लै भूमिका हुन सक्छ । यो मैले धेरै सोचेर लिएको निर्णय हो ।’

राष्ट्रिय क्रिकेट खेलाडीले खेलबाट सन्न्यास लिएको दुई वर्षपछि मात्रै क्यानको चुनाव लड्न सक्ने प्रावधान रहेकाले आफूसँग केही समय रहेको पारसले बताए । ‘मसँग दुई वर्ष समय छ । यो बीचमा अरु पनि विकल्प छन् । क्रिकेट प्रशिक्षकका रूपमा हुन सक्छ वा कमेन्ट्रीमा पनि हुन सक्छ,’ उनले भने । क्रिकेट संघमा आउने चाहना भए पनि यो चुनौतिपूर्ण रहेको पारसले स्वीकारे ।