राजकुमार र जान्हवी फेरि पर्दामा।

मुम्बई:= बलिउड कलाकार राजकुमार राव र जान्हवी कपुरलाई फेरि एकपटक पर्दामा जोडीको रूपमा देख्न पाइने भएको छ । यसैवर्ष ओटीटी प्लेटफर्ममा रिलिज भएको हरर–कमेडी चलचित्र ‘रूही अफ्जा’ पछि उहाँहरूको जोडीलाई अर्को चलचित्रमा देख्न पाइने भएको हो । चलचित्रलाई शरण शर्माले निर्देशन गर्ने भनिएपछि नाम भने खुलाइएको छैन ।

शरणले यसअघि चलचित्र ‘गुन्जन सक्सेना’ को निर्देशन गर्नुभएको थियो । यस वर्षको अन्तिमबाट चलचित्रको सुटिङ सुरु गरिने बताइएको छ । चलचित्रमा जान्हवी र राजकुमार दुवैले क्रिकेटरको भूमिका निर्वाह गर्नुहुनेछ । यसका लागि उहाँहरूले चाँडै क्रिकेटको ट्रेनिङ लिने बुझिएको छ । जान्हवी कपुर यस वर्षको अगस्तबाट फिल्म ‘हेलन’ को छायांकन सुरु गर्ने तयारीमा हुनुहुन्छ । त्यस्तै, राजकुमार राव यतिबेला नेटफ्लिक्सको फिल्म ‘मोनिका : ओ माइ डार्लिङ’ को छायांकनमा व्यस्त हुनुहुन्छ ।