काठमाडौं:= राष्ट्रियसभाका सदस्यहरूले दार्चुलास्थित महाकाली नदीमा एसएसबीले तुइन काटिदिँदा नेपाली युवक बेपत्ता भएको घटनामा शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय सरकार भारतसँग कुरा गर्न डराएको बताएका हुन् ।
सोमबार दिउँसो बसेको राष्ट्रियसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले समेत दार्चुला घटनामा भारतीय पक्षको संलग्नताबारे मौनता साँधेको भन्दै सांसदहरूले आक्रोश पोखेका हुन् । मन्त्री खाँणलाई प्रश्न गर्ने क्रममा सांसदहरूले नेपाली युवा जयसिंह धामीलाई तुइन काटेर महाकालीमा बेपत्ता बनाइएको घटनामा देउवा नेतृत्वको सरकार भारतसँग कुरा गर्न डराएको बताएका थिए ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद् भगवती न्यौपानेले दार्चुला घटनाबारे गृहमन्त्री खाँणको भनाइ अत्यन्तै हलुका भएको बताउनुभएको थियो । यस्तै, राष्ट्रियसभाकी अर्की सदस्य कोमल वलीले महाकाली नदीमाथि एसएसबीले तुइन काटिदिएको घटनालाई लिएर सरकारले भारतसँग हिम्मतका साथ कुरा गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले सरकारलाई समिति बनाएर मात्रै नबस्न पनि आग्रह गर्नुभयो ।
अर्का सांसद चक्रप्रसाद स्नेहीले घटनाको चार दिन बितिसक्दा पनि जयसिंह बेपत्ता प्रकरणबारे भारतसँग सरकारले कुरा गर्न नसकेको भन्दै आपत्ति व्यक्त गर्नुभयो । उहाँले नागरिकको अन्यायपूर्वक ज्यान लिइएको घटनामा सरकारले खुट्टा नकमाई भारतसँग कुरा गर्न सक्नुपर्नेमा त्यसको ठीक उल्टो भएको पनि उल्लेख गर्नुभयो । अर्का सांसद भैरवसुन्दर श्रेष्ठले परमादेशबाट बनेको सरकार दार्चुला घटनाबारे भारतसँग कुरा गर्न डराइरहेको बताउनुभयो । त्यस्तै, अर्का सांसद शेरबहादुर कुँवरले जयसिंहको भारतीय पक्षबाट हत्या भएको बताउनुभयो ।
गृहमन्त्रीको जवाफ : ‘पहिला प्रतिवेदन कुरौं’
गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदीको तुइन काटेपछि नेपाली युवा बेपत्ता भएको घटनामा छानविन समितिको प्रतिवेदन कुर्न आग्रह गर्नुभएको छ । नेपाली युवा जयसिंह धामीले दार्चुलास्थित महाकाली नदी तर्ने क्रममा भारतीय पक्षले तुइन काटिदिएको घटनाबारे गृहमन्त्री खाँणले सोमबार राष्ट्रियसभामा जवाफ दिँदै यस्तो बताउनुभएको हो ।
त्यसपछि उहाँले १० दिनको समय दिएर गृह मन्त्रालयका सह–सचिव नेतृत्वमा छानविन समिति गठन भएको बताउँदै त्यति समयसम्म कुर्न भन्नुभएको हो । ‘दार्चुला घटनाबारे सरकार संवेदनशील र गम्भीर छ । ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म शव नभेटिएकाले मृत्यु स्वीकार गर्ने अवस्था रहेन । सरकारले छानविन समिति बनाएको छ । सरकारको प्रतिवेदन पनि पर्खिनुप¥यो । त्यति समयसम्म त पर्खिनुस् । छानविनमा प्रभाव पार्ने गरी सरकारले अहिल्यै आफ्नो राय दिन मिलेन ।’




















