‘लव सर्कल’ को पोष्टर सार्वजनिक।

काठमाडौं:= चलचित्र ‘लव सर्कल’को पोष्टर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रबीच चलचित्रको पोष्टर सार्वजनिक गरिएको हो । मि–टिभीको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई ओमप्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गर्नुभएको हो । कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन वसन्त निरौलाले गर्नुभएको छ ।

कोरोना संक्रमणका कारण घरमै बस्नुपर्ने बाध्यता रहेका कारण फुर्सदमा रहेका कलाकार तथा प्राविधिकलाई पनि केही राहत होस् भन्ने उद्देश्यका साथ डिजिटल प्लेट फर्ममा मात्र प्रदर्शन गर्ने लक्ष्यसहित चलचित्र ‘लव सर्कल’को निर्माण गरिएको निर्देशक निरौलाले बताउनुभयो ।

चलचित्रमा नाजिर हुसेन, मुकुन भुसाल, पवित्रा आचार्य, रवीन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइरालाको अभिनय छ । कमेडी च्याम्पियनमा ‘दले दाइ’को उपनामले चिनिनुभएका सुमन कोइराला यसै चलचित्रमार्फत डेब्यु गर्दै हुनुहुन्छ । चलचित्र ‘लव सर्कल’ मा अंकित बाबु अधिकारीको संगीत, श्रीधर पौडेलको पोष्टर फोटोग्राफी, मुख्य सहायक निर्देशक विनय पौडेल, लेखन अभिमन्यु निरवी, कलर राजेन्द्र मोक्तान, छायांकन दिव्य सुवेदी, कोरियोग्राफी पवित्रा आचार्य र सम्पादन शाहील खान र मिलन श्रेष्ठकोे छ ।

यही २९ गतेबाट चलचित्र डिश होम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आउने बताइएको छ । यससँगै सम्पूर्ण डिजिटल प्लेट फर्ममा पनि चलचित्र प्रदर्शन गरिने निर्माता ओम प्रकाश अग्रवालले जानकारी गराउनुभयो ।