साफ आयोजनाको प्रस्तावका लागि सरकारले पाँच करोड दिने।

काठमाडौं:= दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) आयोजनाका लागि सरकारले पाँच करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साफ आयोजनाका लागि १० करोड रुपैयाँ रुपैयाँ बुझाउनुपर्नेमा पाँच करोड सरकारले दिने भएपछि पाँच करोड अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले जुटाउने भएको छ ।

एन्फा केन्द्रीय कार्यसमितिको शुक्रबार अबेरसम्म बसेको आपत्कालीन बैठकले साफ आयोजनाका लागि सरकारले पाँच करोड रुपैयाँ प्रदान गर्ने मन्त्रिस्तरीय निर्णय गरेकोमा धन्यवाद दिने निर्णयसमेत गरेको छ । साफ च्याम्पियनसिका लागि प्रस्ताव गर्ने साफले एन्फालाई आग्रह गरेको थियो ।

च्याम्पियनसिप नेपालमा आयोजना गर्न आवश्यक पर्ने कुल दश करोड रुपैयाँबराबरको विस्तृत प्रस्तावसहित साफलाई अनुरोध गर्ने एन्फाले गरेको प्रवक्ता किरण राईले बताउँनुभयो । अघिल्लो हप्ता बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएपछि नेपाललाई प्रस्ताव पेश गर्न आग्रह गरेको थियो । प्रतियोगिता अक्टोबरमा गर्ने सहमति भएको छ । आयोजनाका लागि नेपालसँगै माल्दिभ्स र भारतले पनि दाबेदारिता प्रस्तुत गरेका थिए । तर, गत आइतबार भने नेपालले साफबाट आयोजना गर्न औपचारिक प्रस्ताव राख्ने अवसर दिएको हो ।

यसपल्ट साफमा पाँच टोलीले सहभागिता जनाउनेछन् । पाकिस्तान फिफाको प्रतिबन्धमा रहेका कारण सहभागिता जनाउने छैन । भुटानमा भने कोरोना संक्रमणका कारण देशबाहिर जान प्रतिबन्ध रहेका कारण सहभागिता नहुने भएको छ । प्रतियोगितामा नेपाल, माल्दिभ्स र भारतसँगै श्रीलंका र बंगलादेशले खेल्नेछन् ।

पछिल्लो पटक नेपालले सन् २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यसबेला नेपाल सेमिफाइनलसम्म पुगेको हो । अघिल्लो संस्करण बंगलादेशको ढाकामा भएको थियो । त्यसबेला पनि उपाधि दाबेदार मानिएको नेपाललाई सेमिफाइनलमा माल्दिभ्सले रोकेको थियो । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल पुगेको छैन ।

प्रतियोगिताको तयारीका लागि एन्फाले महिला र पुरुष राष्ट्रिय फुटबल टोलीको मैत्रीपूर्ण खेल पनि गराउने भएको छ । कार्यसमिति बैठकले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि मैत्रीपूर्ण खेलको पहल गर्ने निर्णय गरेको हो ।

एएफसी महिला एसिया कप छनोटको तयारीमा रहेको महिला टोलीका लागि इरानको राष्ट्रिय महिला टोली र अन्य राष्ट्रिय टोलीसँग पत्राचार गरिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । नेपाल, फिलिपिन्स र हङकङ समूहको खेल सेप्टेम्बरमा नेपालमा हुने तय छ । त्यस्तै साफ च्याम्प्यिनसिपअघि पुरुष टोलीको तयारीका लागि बंगलादेश, भारत र सिंगापुरको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेलका लागि पत्राचार गरिने एन्फाले जनाएको छ ।

विवाद समाधानको जिम्मा मन्त्रालयलाई

यसैगरी वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद समाधान गर्ने जिम्मा एन्फाले खेलकुद मन्त्रालयलाई दिएको छ । कार्यसमिति बैठकमा आपसी सहमति जुटाउन नसक्दा एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो । ‘स्वतन्त्र छानविनका लागि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ’, एन्फा कार्यसमितिको आपतकालीन बैठकपछि शुक्रबार साँझ एन्फा प्रवक्ता किरण राईले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष नेम्बाङ, प्रशिक्षक अलमुताइरी र दुई सञ्चारकर्मीले तीन पक्षले छानविनका लागि अलग अलग निवेदन दर्ता गराएपछि एन्फाले शुक्रबारका लागि एन्फा केन्द्रीय समितिको आपत्कालीन बैठक बसेको थियो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बैठकमा अलमुतारीलाई कारबाही गर्दा नेपाली फुटबललाई अप्ठेरो पर्ने बताउनुभएपछि नेम्बाङसहित उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर खड्का र सदस्य दावा लामा बैठक छाडेर निस्कनुभएको थियो । बैठकमा प्रशिक्षक अलमुताइरीलाई पनि आफ्नो कुरा राख्न दिइएको थियो ।

प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक सञ्जालमा समर्थकलाई सम्बोधन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण आफूले राजीनामा दिन लागेको घोषणा गर्नुभएको थियो । सामाजिक सञ्जालमार्फत अलमुताइरीले राजीनामा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले दिनदिनै अनेक बहाना र नाटक गरेर आफूलाई दुःख दिएको उल्लेख गर्नुभएको थियो ।

अलमुताइरी गतवर्ष चैत २२ मा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको थियो । तत्कालीन मुख्य प्रशिक्षक बालगोपाल महर्जनको स्थानमा उनलाई नियुक्त गरिएको थियो । कतार फुटबल संघको सहयोगमा उहाँ नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक बन्नुभएको हो । उहाँको पारिश्रमिक कतारले तिर्दै आएको छ ।

उहाँको प्रशिक्षकत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका तीनगरी कुल चार खेल खेलेको थियो । जसमा नेपालले चाइनिज ताइपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो भने जोर्डन र अष्ट्रेलियासँग समान ३–० गोलअन्तरले पराजित भएको थियो । यस्तै त्यसअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो ।