कतार रोजगारी : कोरोनाको दुबै डोज खोप लगाएका विदेशीहरुले पनि अनिवार्य क्वारेन्टाइन।

दोहा:= कतारमा पछिल्लो समय कोरोना संक्रमण बढेसँगै त्यहाँको यात्रा नीतिमा परिवर्तन ल्याइएको छ । सोमबार (२ अगष्ट) देखि लागू हुने गरी कोरोनाविरुद्धको खोप लगाएका विदेशी नागरिकले कतार प्रवेश गरेपछि अनिवार्यरूपमा होटल क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरिएको छ ।

कतारमा खोपको दुवै मात्रा लगाएका वा कतारमा कोभिड संक्रमण भई निको भएका यात्रुले कतार प्रवेश गरेपछि दुई दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ । दोस्रो दिनको परीक्षणमा रिपोर्ट नेगेटिभ आएमा मात्र आफ्नो गन्तव्यमा जान पाइने जनाइएको छ ।

कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका आवासीय भिसावाहक यात्रुहरूले कतार प्रवेश गरेपछि अनिवार्यरूपमा १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । यसअघि कतारले जुलाई १२ तारिखबाट लागू हुने गरी मान्यताप्राप्त खोप लगाएका विदेशी नागरिक क्वारेन्टाइनमा बस्नुनपर्ने नियम ल्याएको थियो ।