सरस्वती बाहिरिएसँगै सकियो ओलम्पिकमा नेपालको चुनौती।

काठमाडौं:= टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपालका लागि अन्तिम प्रतिस्पर्धी खेलाडी सरस्वती चौधरीले सामान्य प्रदर्शन गर्नुभएको छ । शुक्रबार बिहान महिला एक सय मिटर दौडमा उहाँले आशातित प्रदर्शन गर्नसक्नु भएन ।

सरस्वतीले निर्धारित दुरी १२.९१ सेकेण्डमा पूरा गर्नुभएको थियो । आफ्नो हिटमा रहेका नौमध्ये उहाँ आठौं स्थानमा रहनुभयो । उहाँले यस स्पर्धामा व्यक्तिगत उत्कृष्ट समय पनि सुधार गर्न सक्नुभएन । सरस्वती पहिलो चरणबाट बाहिरिनुभएको छ ।

यसअघि उहाँको नाममनै यस स्पर्धाको कीर्तिमान थियो । २०१९ मा कतारमा भएको विश्व च्याम्पियनसिपमा उहाँले १२.७२ सेकेण्ड र त्यसपछि १३औं सागमा उहाँले १२.५५ सेकेण्डको समयमा दूरी पार गर्नुभएको थियो । तर यसपटक भने उहाँ सो समयभन्दा पनि पछि पर्नुभयो । यस्तै यस स्पर्धामा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । उहाँले सन् १९९९ को साग गेम्समा १२.२० सकेण्डको कीर्तिमान राख्नुभएको थियो ।

सरस्वतीको प्रतिस्पर्धासँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती सकिएको छ । टोकियोमा नेपालबाट पाँच खेलाडी सहभागी हुनुहुन्थ्यो । पाँचै खेलाडीले दोस्रो चरण पार गर्न सक्नुभएन । पौडीका गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स) र सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान कीर्तिमान बनाउनुभयो ।

पौडीमा एलेक्स शाह र गौरिका सिंहले एक सय मिटर फ्रिस्टाइल तथा सुटिङकी कल्पना परियारले १० मिटर एअर राइफलमा कीर्तिमान बनाउनुभएको हो । त्यसबाहेक जुडोमा सोनिया भट्ट पहिलो चरणबाटै बाहिरिनुभएको थियो ।

मेरी कोम बाहिरिइन

भारतीय बक्सर मेरी कोम टोकियो ओलम्पिक २०२० को प्रि-क्वार्टरफाइनलबाट बाहिरिनुभएको छ । बिहीबार महिलाको फ्लाईवेट ४८–५१ केजी तौल समूहमा कोलम्बियाकी खेलाडी इन्ग्रिट भ्यालेन्सियासँग ३–२ को अंकमा पराजित हुँदै कोम टोकियो ओलम्पिकको राउण्ड अफ १६ बाटै बाहिरिनुभएको हो।

पहिलो राउण्डमै ४–१ ले पछि परेको मेरी कोमले दोस्रो र तेस्रो राउण्डमा समान एक अंक जोडे पनि जितका लागि पर्याप्त बन्न सकेन । यससँगै ६ पटक विश्व च्याम्पियनसिप कोमको ओलम्पिकमा दोस्रो पदक जित्ने सपना सकिएको छ । मेरी कोमले २०१२ को लण्डन ओलम्पिकमा कास्यपदक जित्नुभएको थियो ।