चिनिया राजदूत याङ्छीद्वारा एकै दिन अर्थ र ऊर्जामन्त्रीसँग भेट

काठमाडौं:= नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले अर्थमन्त्री जनार्दन शर्मासँग  भेट गर्नुभएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोरोना महामारी र भूकम्पपछिको पुनर्निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि चिनियाँ सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कोरोनाविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकता भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गर्नुभयो । मन्त्री शर्माले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएको जानकारी गराउँदै सो कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री शर्माले चिनियाँ सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजना कार्यान्वयनको अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्य सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले चिनियाँ लगानीका सडक, जलविद्युत्, विमानस्थललगायतका निर्माणाधीन परियोजना सम्पन्न गर्न नेपाल सरकारले गर्नुपर्ने कामका सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने पनि बताउनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

सो अवसरमा चिनियाँ राजदूत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताउनुभयो । चिनियाँ जनता र चिनियाँ कम्युनिष्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदूत होउले कोरोनाविरुद्धको लडाइँंमा आफूहरू नेपालको साथमा रहँदै आएको बताउनुभयो । चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त हुने जानकारी पनि उहाँले गराउनुभयो ।

त्यस्तै भूकम्पपछिको पुनर्निर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ परियोजनाको पुनर्निर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै दरबार हाईस्कुलको पुनर्निर्माण सकिएको, वसन्तपुरको नौतले दरबारको काम सकिन लागेको र बाँकी अन्य परियोजनाको काम पनि चाँडै सम्पन्न गरिने आश्वासन दिनुभयो ।

राजदूत याङ्छीले सोही दिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेट गर्नुभएको छ । भेटमा राजदूत होउले विकासका लागि अत्यन्त महŒवपूर्ण ऊर्जामा नेपाल सम्भावनायुक्त मुलुक भएको उल्लेख गर्दै दुई देशबीच सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । चिनियाँ कम्पनीले जलविद्युत्का क्षेत्रमा राम्रो अनुभव हासिल गरेको चर्चा गर्दै चिनियाँ कम्पनीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।

चिनियाँ पावर कन्स्ट्रक्सन कम्पनीले नेपालको माथिल्लो तामाकोसी, त्रिशुली थ्री एलगायत आयोजनामा काम गर्दै आएको उल्लेख गर्दै राजदूत होउले ती आयोजनामा देखिएका समस्यालाई सुल्झाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालले ल्याएका नयाँ नीति कार्यान्वयनमा नआएको गुनासो पनि गर्नुभयो ।

मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माणाधीन जलविद्युत् आयोजना र ट्रान्समिसन लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गरिने बताउनुभयो । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिनुभयो ।

चीनमा उच्च अध्ययन गरिरहेका नेपाली विद्यार्थी कोरोनाका कारण स्वदेश फर्कनुपरेको उल्लेख गर्दै मन्त्री भुसालले ती विद्यार्थीलाई अध्ययन पूरा गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । चीनले नेपाललाई खोप उपलब्ध गराएर जनस्तरमै गुन लगाएको भन्दै मन्त्री भुसालले चीन सरकारप्रति आभार प्रकट गर्नुभएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।