शीर्ष कम्युनिष्ट नेताहरूको उद्घोषः वाम एकता अपरिहार्य, ओलीलाई नेपालले भने महाराजधिराज।

काठमाडौं:= नेपालका कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूले देशमा रहेका सम्पूर्ण कम्युनिष्ट पार्टीहरूको एकता अपरिहार्य रहेको आवश्यकता औंल्याउनुभएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विभाजनको ६ महिना पनि नबित्दै एक ठाउँमा भेला भएका विभिन्न ६ पार्टीका शीर्ष नेताहरूले कम्युनिष्ट एकताको आवश्यकता रहेको औंल्याउनुभएको हो । ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक कार्यक्रममा नेताहरूले मुलुक सिंगो कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । अधिकांश समय एक-अर्का नेताहरूको विरुद्धमा अभिव्यक्ति दिनुभएका नेताहरूले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि एकता अपरिहार्य रहेको बताउनुभयो ।

ओली महाराजधिराजबाट आममाफी बक्स भएछ, हामी गदगद ! : नेपाल

कार्यक्रममा सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिनुभएको छ । ओलीले सार्वजनिक रूपमै नेता नेपाललगायत नेपाल समूहका नेताहरूलाई आममाफी दिने ओलीको घोषणालाई श्री ५ को संज्ञा दिनुभएको हो । ओलीले आफ्नो गल्ती स्वीकार नगरेर उल्टै आफूहरूलाई आममाफी दिने अभिव्यक्ति दिएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाललगायत माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरूलाई आममाफी दिइन्छ, एम्नेष्टी एज एम्नेष्टी, अनि हामी गदगद भयौँ, महाराजाधिराजोवाच, हामी गदगद भयौँ, वाह वाह वाह, महाराजधिराज खुसी हुनुभए छ, हामीलाई आममाफी मिलेछ, नाच्नुपर्ने भयो, खुसी हुनुपर्ने भयो, यही हो कम्युनिष्ट पद्धति ? स्पष्टीकरण सोध्नु गल्ती थियो, मैले हतार गरेँ गल्ती भयो भनिदिएको भए हाइट घट्थ्यो ?’

नेता नेपालले ओली अझै परिवर्तन नभएको बताउँदै गत वर्षदेखि पार्टीको विधि र पद्धतिलाई नमानिरहेको बताउनुभयो । उहाँले आफ्नो निवासमा आएर केही समूहले तर्साउन खोजे पनि आफू नडराउने बताउनुभयो । राति आफ्नो निवासमा मोटरसाइकलमा १५÷२० जनाको समूह आएर तर्साउन खोजेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘मेरो निवासअघि राति मोटरसाइकलमा आएका १५÷२० जनाले तर्साउन खाजे, माधव नेपाल तर्सिने मान्छे हो, फलामको जस्तो शरीर हुन्छ कम्युनिष्टको, त्यत्तिकै डराउँदैन ।’

नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन संसद् पुनः विघटन गर्ने षड्यन्त्र गर्न खोजिए पनि त्यो सफल नभएको बताउनुभयो । आफूसमेत एमालेका २२ जना सांसदहरूले देउवालाई विश्वासको मत दिएर त्यो षड्यन्त्रलाई असफल पारिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओलीले संसद् विघटन गर्ने मेरो कदम ठिक थियो, म दूरदर्शी नेता हुँ, भन्न खोज्नुभयो, तर त्यसलाई हामीले जोगाएका छौँ, संविधानको रक्षा गरेका छौँ, स्वतन्त्र न्यायपालिकाको सम्मान र जायज काम गरेका छौँ, मसँग जोडिएर देउवालाई मत दिने २२ जना सांसदलाई पनि सलाम गर्न चाहन्छु ।’

कम्युनिष्ट र मजदुरका विषय आएनन् : गणेश शाह

नेकपा माओवादी केन्द्रका नेता गणेश शाहले अझै पनि कम्युनिष्ट र मजदुरहरूका विषयवस्तु अगाडि आउन नसकेको बताउनुभयो । पार्टी, संसद् र सरकारमा कम्युनिष्टहरूको हालीमुहाली भए पनि दलाल पुँजीपतिहरूको जस्तो व्यवहार हुने गरेको उहाँले बताउनुभयो । उहाँले पार्टीका शीर्ष नेताहरू आफ्ना मुद्दामा भन्दा भाषण गर्दै हिँड्ने गरेको भन्दै आलोचना पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, कम्युनिष्ट र मजदुरका विषयवस्तु अगाडि आएनन् । पार्टी, संसद् र सरकार चाहिँ कम्युष्टिको, हालीमुहाली चाहिँ दलाल पुँजीपतिको ? प्रचण्ड, माधवलगायत नेतालाई संकट टार्ने दिनरात भाषण गर्दै फुर्सद छैन ।’

उहाँले कम्युनिष्टहरूका बीचमा वाममोर्चाको आवश्यकता रहेको पनि बताउनुभयो । ओली कम्युनिष्टका नाममा तानाशाही भएर निस्किएको उल्लेख गर्नुहुँदै उहाँले आगामी निर्वाचनसम्म वर्गीकरण, दृष्टिकोण र श्रमजीवीका लागि एकता हुनुपर्नेमा जोड दिलनुभयो ।

उहाँले भन्नुभयो, ‘कम्युनिष्टको नाममा ओलीको तानशाही प्रवृत्ति छ । म नै राज्य भन्ने को विरुद्धमा, संविधानविरोधीको विरुद्धमा एक हुन जरुरी छ । चुनावमा जाँदा वर्गीकरण, हाम्रो दृष्टिकोण, श्रमजीवी वर्गका लागि एकता गर्नपर्छ ।’

प्रचण्ड र नेपाललाई वैद्यको सुझाव, प्रधानमन्त्रीको लोभ त्याग्नुस्

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य (किरण)ले कम्युुनिष्ट पार्टीहरू मिलेर जानुको विकल्प नभएको बताउनुभएको छ । अहिले संसद्, सरकार र सडकमा रहेका सबै कम्युनिष्टहरू मिलेर जान उहाँले आग्रह गर्नुभएको हो ।

नेपालमा क्रान्तिकारी धारका पार्टीहरू एक हुनुपर्नेमा उहाँको जोड थियो । उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न सुझाव पनि दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कम्युनिष्टहरू एकठाउँमा बस्नुपर्छ, र सडकमा भएका कम्युनिष्टहरू पनि एकठाउँमा उभिनुपर्छ, संसद् र सरकारमा भएका कम्युनिष्टहरूले सडकमा भएका कम्युनिष्टहरूलाई दमन गरेर जानुभएन, प्रचण्डजी र माधव नेपालजी यही संसदीय व्यवस्थाबाट कतिपटक प्रधानमन्त्री बन्नुहुन्छ के, प्रधानमन्त्रीको लोभ र मोह त्याग्नुस् अनि जनताको लागि काम गरौँ ।’

उहाँले एमाले अध्यक्ष अ‍ोलीलाई पनि आफ्नो कार्यशैली सच्याउन आग्रह गर्नुभएको छ । ओलीको इगो र स्वेच्छाचारी भावनाले समस्या गरेको उल्लेख गर्नुहुँदै उहाँले ओलीको बुद्धिले कहिले रेल आउँछ भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ओलीको कार्यशैली संसारमा मभन्दा अर्को कोही छैन भन्ने देखियो, पानीजहाज र रेलका कुरा गर्नुभयो, तर उहाँको कार्यशैली पद र प्रतिष्ठामै अड्किएको छ, यस्तै बुद्धिले रेल आउँछ र ?’

राजनीतिमा संकट आउनु कम्युनिष्ट संकटमा हुनु हो : धर्मेन्द्र बास्तोला 

विप्लव नेतृत्वको नेपालल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपालको नेपालको राजनीतिमा संकट देखिनु कम्युनिष्ट पार्टीमा देखिएको संकट भएको बताउनुभयो ।

अहिले कम्युनिष्ट आन्दोलनमा देखा परेको संकटका कारणले नै नेपाली राजनीतिमा संकट देखा परेको उहाँको भनाइ छ । बास्तोलाले सामन्तवर्गको हातमा रहेको सरकार अहिले दलाल र पुँजीपतिहरूको हातमा रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिमा देखापरिहेको संंकट वास्तवमा कम्युनिष्टहरूको संकट हो, कम्युनिष्ट आन्दोलनमा देखा परेको संकटको कारणले नेपाली राजनीतिमा संंकट देखापरेको छ ।

नेपाली जनताको हातमा शासन व्यवस्था गएन, राज्यप्रणाली गएन, नेपालको शासन दलाल पुँजीपतिहरूको हातमा गयो, हिजो सामन्तवर्गको हातमा थियो आज दलाल पुँजीपति वर्गको हातमा छ ।’

जनता भ्रष्टाचारीका शिकार भए : अष्टलक्ष्मी शाक्य

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले जनता अहिले पनि भ्रष्टाचारको शिकार बन्नु परेको बताउनुभयो । देशमा लोकतान्त्रिक शक्तिहरू नेतृत्वमा आए पनि जनताहरू भ्रष्टाचारको शिकार बन्नुपरेको उहाँको भनाई थियो । पटक-पटक दलका सरकार आए पनि कहिल्यै भ्रष्टाचारको बारेमा छलफल नभएको बताउँदै नेतृ शाक्यले यी कुराहरूमा छलफल गरेर जनताका समस्या समाधान गर्नुपर्ने र नेपाली जनताको सुरक्षा र हकहितका बारेमा छलफल गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक शक्तिहरू नेतृत्वमा आइरहेको बेलामा जनताहरू जहिल्यै पनि भ्रष्टाचारको शिकार बन्ने प्रताडित हुने र अहिले पनि भ्रष्टाचारले देशलाई डुबाइसकेको छ, पटकपटक सरकार फेरिए तर कहिल्यै भ्रष्टाचारको विषयमा छलफल भएन, त्यसलाई कसरी निर्मूल गर्ने भन्ने बारेमा छलफल भएन, त्यसैले यो विषय बनाउने कि नबनाउने, शु–सासन कायम गर्ने कि नगर्ने ? जनतालाई सेवा दिने कि नदिने ? यी बारेमा पनि गम्भीर विषय बनाएर छलफल हुनुपर्छ ।

उहाँले ओली पक्षका प्रदर्शनहरूलाई संकेत गर्नुहुँदै सिर्जनाशील युवाहरूलाई किन बाँदर बनाएर सडकमा ल्याउनुभएको भन्दै प्रश्न गर्नुभएको छ ? उहाँले कम्युनिष्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको समेत बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘जनताको सुरक्षा र हकहितका विषयमा छलफल गर्नुपर्छ, सिर्जनाशील युवाहरूलाई बाँदर बनाएर सडकमा किन ल्याउनुभएको हो ? यसले कम्युनिष्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको छ ।’

गठबन्धनले संविधान र संसद् जोगियो : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको एकताले संविधान र संसद् जोगाएको बताउनुभएको छ । सर्वोच्चको फैसला स्वीकार्य रहेको उल्लेख गर्नुहुँदै उहाँले राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक भएको आरोप पनि लगाउनुभयो ।

अहिलेको संविधान जोगिएको र अबको दिनमा संशोधन गरेर अझै उत्कृष्ट संविधान बनाउने बताउँदै उहाँले पूर्व–प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विचित्रको काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले समर्थन गरेका हौँ, तर तिघ्रामा पिप जम्मा भएपछि निचोरेर फाल्नुपर्छ, पार्टीभित्रकै साथीहरूले संघर्ष गर्नुभयो । पाँच दलको एकताले धर्मनिरपेक्षता गणतन्त्रलगायत उपलब्धिहरूलाई बचाउने काम भएको छ, संसद् कम्तीमा पनि १८ महिना बच्ने भयो, यो फैसला हामीलाई स्वीकार्य छ, तर राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक देखिन्छ, केपी ओलीको सरकारले विचत्रकै काम गरेको छ, जनता खोप भनिरहेको बेलामा सरकारले भोट भनिरहृयो ।’