११ देशका राजदूत नियुक्ति खारेज, तीन सहसचिवको सचिवमा बढुवा।

सिन्धुपाल्चोक र मनाङ जिल्ला विपत संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं:= अहिलेको शेरबहादुर देउवा सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारको निर्णय खारेज गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै, सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागू हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो । मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको पनि प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिकतर्फको सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञ पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । साढे दुई वर्षपछि स्वास्थ्य मन्त्रालयले सेवातर्फ सचिव पाएको छ । तत्कालीन स्वास्थ्य सचिव डा.पुष्पा चौधरीलाई २०७५ साल मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा तानेदेखि सरकारले स्वास्थ्य सेवातर्फको सचिव पद नै हटाएको थियो ।

गत असार २१ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिव पदको दरबन्दी स्वीकृत गरेपछि स्वास्थ्य सचिव नियुक्तिका लागि प्रक्रिया अघि बढेको थियो । प्राविधिक सचिव पाएसँगै अब पुनः स्वास्थ्य मन्त्रालयमा प्रशासन र प्राविधिकतर्फ गरी दुई सचिव रहनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिव नियुक्तिका लागि १२ औं तहका तीन जनाको नाम सिफारिस गरिएको थियो ।

सिफारिस समितिले सचिवका लागि प्रमुख विशेषज्ञहरू डा. पोखरेल, महेन्द्रप्रसाद श्रेष्ठ र दीपेन्द्ररमण सिंहलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले डा. पोखरेललाई नियुक्त गरेको हो। यस्तै, सरकारले भारतसँगको उडान संख्या थप गर्दै हप्तामा तीनपटक आवतजावतको व्यवस्था गरेको छ । कोभिड महामारीका कारण यसअघि भारतका हप्तामा एउटा उडान मात्र हुने गरेको थियो ।

त्यस्तै, सरकारले खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै मित्रराष्ट्रहरूलाई धन्यवाद दिँदै अनुदान वा खरिदमार्फत् थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा छिमेकी राष्ट्रसँग आह्वान गरिएको पनि प्रवक्ता कार्कीले बताउनुभयो ।

हाल नेपालमा भारतमा उत्पादित कोभिशिल्ड, चीनमा उत्पादित भेरोसेल र अमेरिकामा बनेको जोन्सन एण्ड जोन्सनको खोप लगाइएको छ । भारतले ११ लाख डोज खोप अनुदानमा दिएको थियो भने नेपालले १० लाख डोज खरिद गरेको थियो । चीनले १८ लाख डोज भेरोसेल खोप अनुदान दिएको छ भने नेपालले खरिद गरेर पनि ल्याएको छ । हालै अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।