एकसातादेखि उठेन काठमाडौंको फोहोर, दुर्गन्धले सर्वसाधारण आक्रान्त।

काठमाडौं:= एकसातादेखि काठमाडौं उपत्यकाको फोहोर उठेको छैन । वर्षायाममा फोहोर नउठ्दा यसको दुर्गन्धले सर्वसाधारण आक्रान्त भएका छन् । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेको छैन । बानेश्वर, शंखमूल, अनामनगर, बागबजार, बत्तीसपुतली, पुतलीसडकलगायत सहरका धेरै ठाउँको चोक-चोकमा फोहोरको थुप्रो जम्मा भएको छ ।

उपत्यकाको फोहोर विसर्जन हुँदै आएको नुवाकोटको ओखरपौवास्थिति सिसडोल पुग्ने सडक वर्षाले बिगारेपछि फोहोर व्यवस्थापनमा समस्या हुन थालेको हो । वर्षायाम भएकाले फोहोरका कारण संक्रामक रोग फैलन सक्ने भय उत्पन्न भएको छ । समयमा फोहोर नउठ्दा दुर्गन्ध फैलिएको भन्दै तत्काल फोहोर व्यवस्थापन गर्नुपर्ने माग सर्वसाधारणको छ । राजधानी दुर्गन्धित हुँदा पनि यहाँका स्थानीय सरकारले फोहोर व्यवस्थापनमा ध्यान नदिएको नयाँ बानेश्वर निवासी रमेश पौडेलले गुनासो गर्नुभयो ।

दिनहुँ १५० वटा ट्रकले फोहोर पुर्‍याउने गरेकोमा अहिले मुस्किलले ५० वटा ट्रक मात्रै सिसडोल पुग्न गरेको काठमाडौं महानगरपालिकाअन्तर्गत वातावरण व्यवस्था विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । यसअघि थुपारिएको फोहोरमाथि नै सडक बनाइएकाले अहिले समस्या भएको उहाँ बताउनुहुन्छ  । बिग्रिएको सडकमा ढुंगा बिछ्याउने काम भइरहेकाले केही दिनमा सबै स्थानको फोहोर उठ्ने उहाँले जानकारी गराउनुभयो ।

बाटो बनाउने कार्य भइरहेको र केही दिनमै फोहोर व्यवस्थापन नियमित गरिने महानगरपालिकाले जनाएको छ । सिसडोलमा १४ वर्षदेखि फोहोर व्यवस्थान हुँदै आएको छ । यस्तै नुवाकोटकै बन्चरे डाँडामा निर्माण भइरहेको फोहोर प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको सहरी विकास तथा भवन विभागले जनाएको छ । तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर उठाउन समस्या आएको हो । यतिबेला बञ्चरेडाँडा ल्याण्डफिल साइटको ९५ प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । ०६२ अघि काठमाडौंको फोहोर गोकर्णस्थित ल्याण्डफिल साइटमा डम्पिङ गरिँदै आइएको थियो ।