सन्दीप खेल्ने सीपीएलको खेलतालिका सार्वजनिक।

काठमाडौं:= नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले खेल्ने वेष्ट इण्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ । सीपीएलले अगस्ट २६ बाट सुरु हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक खेलतालिकाअनुसार उद्घाटन खेलमा गुएना अमेजन वारिवर्स र ट्रीनबागो नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ। ट्रीनबागोमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध हुनुहुन्छ । ट्रीनबागोले सन्दीपलाई नयाँ सिजनका लागि अनुबन्ध गरेको हो ।

सन्दीपले यसअघि तीन सिजन सीपीएल खेलिसक्नुभएको छ । सन्दीपले गत सिजन जमैका तलावाजबाट खेल्नुभएको थियो । त्यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्नुभएको थियो । सेट किट्स एण्ड नेभिसमा आयोजना हुने सीपीएलको फाइनल सेप्टेम्बर १५ मा हुनेछ । प्रतियोगितामा कुल ३३ खेल हुनेछ ।