श्रम स्वीकृति लिएका कामदारलाई कोभिड विरुद्धको जोन्सन खोप!

काठमाडौं := श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई को’भिड विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिनको लागि को’भिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई अनुरोध गरेको छ । श्रमले खोप प्राप्त गर्न नसक्दा रोजगारीको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै सिसिएमसीलाई जोन्सन खोप उपलब्ध गराउन आग्रह गरेको हो ।

प्रमुख गन्तव्य देशहरुले जोन्सनलाई मान्यता दिएको छ । ‘तत्कालको लागि एकलाख जनालाई पुग्ने खोपको प्रबन्ध भए वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन हुनेछ’ श्रम सचिव सुर्यप्रसाद गौतमले भने। नेपाली कामदारका प्रमुख गन्तव्य देशहरुले खोपको प्रबन्ध भएका देशबाट मात्रै कामदार लैजाने नीति लिएको छ । दुवै मात्राको खोप नभएपछि नयाँ र बिदामा आएका नेपाली कामदार समेत रोजगारीमा जान पाएका छैनन् ।

चालू आर्थिक वर्षमा एकलाख ५९ हजारले श्रम स्वीकृति पाएका छन् । जसमध्ये धेरै कामदार खोप नपाएर गन्तव्य देशमा जान रोकिएका छन् । नेपालीको आकर्षक गन्तव्य मानिएको दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपाली कामदारलाई जान रोकेको छ । साउदी अरब, कतार, बहराइन र ओमानले भने सर्तसहित क्वारेन्टाइनमा १० दिन बस्ने गरी कामदार लगिरहेको छ ।