काठमाडौं := निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई कुनै ठाउँ नभएको बताएका छन् । बालुवाटारबाट बालकोट पुगेका उनले समर्थकहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
ओलीले नेकपा (एमाले)मा माधवकुमार नेपालले आत्मालोचना समेत गर्ने कुनै स्थान नभएको बताएका छन्। माधवकुमार नेपाल समूहसँग एकताको वार्ता अन्तिम चरणमा पुगेको दाबी एमाले नेताहरुले गरिरहँदा ओली नेपालविरुद्ध झनै आक्रामक भएका हुन्। मंगलवारको विदाई सम्बोधनमा पनि ओलीले नेपाललाई ‘अराजक’को संज्ञा दिएका थिए।
आफ्नो सरकार ढाल्न नेपालले अगुवाइ गरेको ओलीको भनाई छ । ‘कमीकमजोरी स्वीकार्ने अन्यका हकमा पार्टीमा काम गर्न चाहनेलाई मौका दिन्छौं। तर, माधव नेपालको हकमा गल्तीकमजोरी महशुस गरेपनि पार्टीमा स्वीकार्ने ठाउँ छैन।’ ओलीले भने ।
नेपालका पछाडि लाग्ने केही व्यक्तिहरूले कमीकमीजोरी महशुस गरेर काम गर्न चाहेमा मात्रै पार्टी ठाउँ दिने ओलीले बताए । पार्टीभित्र विभिन्न तत्वहरुको घुसपैठ भएको र पार्टीकै नेता नेपालको नेतृत्वमा सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ त कहिले अदालत गएको उनले बताए।
बालकोट पुगेका ओलीलाई युवा संघ र एमालेका अन्य भातृ संगठनहरुले सफल कार्यकालका लागि बधाई दिँदै अभिनन्दन गरेका थिए।




















