एमाले विभाजन रोक्न प्रयास गर्दा धम्की आयो: भीम रावल।

काठमाडौं:= नेकपा एमाले उपाध्यक्ष भीम रावलले आफूलाई एमाले विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको खुलासा गर्नुभएको छ ।

नेता रावलले कार्यदलमा एमाले विभाजन रोक्ने प्रयास नगर्न आफूलाई केही राजनीतिक दलका नेताहरुबाट दबाब र धम्कीपूर्ण टेलिफोन आएको बताउनु भएको हो ।

बुधबार विज्ञप्ति जारी गर्दै रावलले भन्नुभएको छ्, ‘एमाले कतै विभाजनबाट रोकिने पो हो कि भनेर कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगाटाको पर्दा उघारीदिउँ कि जस्तो पो लाग्छ ।’ एमाले कार्यदलले असार २७ गते राति पार्टी एकताको सहमति गरेको थियो ।

विज्ञप्तिमा रावलले आफुले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रतिनिधिसँग होटलमा भेटेको कथित तथा मनगढन्ते समाचार एउटा अनलाईन खबरले लेखेको देख्दा अश्चर्य चकित भएको समेत बताउनु भएको छ ।

रावलले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्वीकार्दै कार्यदल औपचारिकरुपमा पुनर्जीवित भएपछि मात्र वार्तामा सामेल हुने कुरा गरेपश्चात प्रधानमन्त्रीले कार्यदल औपचारिकरुपमा आरम्भ गर्ने बचन दिएपछि आफू वार्तामा तयार भएको बताउनु भएको छ । र सो कुरा आफुले माधव नेपाललाई पनि जानकारी गराएको उल्लेख गर्नु भएको छ ।

यस्ता तत्थविपरीतका सुनियोजित र प्रायोजित किसिमले मेरो राजनीतिक चरीत्र हत्या गर्ने दुराशयपूर्ण कुप्रचार र दुस्प्रयासको भन्दै रावले घोर भत्र्सना समेत गर्नु भएको छ ।