काठमाडौं:= बराह क्षेत्रको श्रीलंका टप्पु क्षेत्रलाई फिल्म सिटी बनाउन उपयुक्त रहेको ठहर गर्दै स्थानीय तहलाई प्रतिबेदन बुझाइएको छ । चलचित्र विकास बोर्डको कार्य योजनाअनुरूप छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिले उक्त प्रतिबेदन बुझाएको हो ।
श्रीलंका टप्पुमा पर्ने गरैया, चिलैया क्षेत्रमा छायांकन स्थल बनाउन नगरपालिकाले गरेको समन्वयका लागि चलचित्र विकास बोर्डले आभार ज्ञापन गरेको छ । छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिको सिफारिशका आधारमा बराह क्षेत्र नगरपालिकाले टप्पु क्षेत्रमा छायांकन स्थल निर्माण गर्नका लागि सहमति प्रदान गरेर बोर्डलाई पत्र पठाएको थियो । जवाफमा बोर्ड अध्यक्ष दयाराम दाहालले बराह क्षेत्र नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सोमबार बराह क्षेत्रका नगरप्रमुख निलम खनाललाई प्रतिवेदन बुझाइएको छ । प्रतिवेदन हस्तान्तरण गर्दै सम्भाव्यता अध्ययन समितिका सहसंयोजक प्रेम सुब्बाले प्रदेश–१ मा जग्गाको उपलब्धता र सुन्दरताको हिसाबले टप्पु क्षेत्र उपयुक्त भएको बताउनु भयो । त्यस्तै, नेपाल चलचित्रकर्मी महासंघ प्रदेश-१ का अध्यक्ष अरुणकुमार प्रधानले सातै प्रदेशमा बन्न लागेको फिल्म सिटीभन्दा तुलनात्मक हिसाबले प्रदेश-–१ मा आकर्षक र उपयुक्त स्थान छनोट भएको बताउनु भएको छ ।
चलचित्र विकास बोर्डले गठन गरेको छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिले प्रदेश-१ का विभिन्न स्थलमा अवलोकन गरी बराह क्षेत्रको श्रीलंका टप्पु क्षेत्रलाई उपयुक्त स्थानका रूपमा सिफारिश गरेको थियो । समितिले यसअघि प्रदेश र संघीय सरकारलाई उक्त प्रतिवेदन बुझाइसकेको छ । सरकारले सातैवटा प्रदेशमा छायांकन स्थल बनाउन बजेट विनियोजन गरेको छ ।




















