सर्वोच्चको फैसलापछि मनीषाको प्रश्नः ‘निर्णय कसले कार्यान्वयन गर्छ ?’

काठमाडौं:= सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटन बदर गरेपछि राजनीतिक माहौल तातेको छ । अदालतको आदेशका पक्ष र विपक्षमा सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया आइरहेका छन् । यही परीप्रेक्ष्यमा बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले ट्वीटरमा एक ट्वीट गर्नुभएको छ, ‘अब कसले निर्णय लागू गर्नेछ ?’ उहाँको यो ट्वीट सर्वोच्च अदालतको आदेशप्रति लक्षित थियो भन्ने प्रष्ट बुझ्न सकिन्छ ।

मनीषा नेपाली राजनीतिमा पनि चासो राख्नुहुन्छ । जननिर्वाचित नेपालका पहिलो प्रधामन्त्री बीपी कोइरालाकी नातिनी मनीषाले ट्वीटरमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्न सरकारले गरेको निर्णयलाई समर्थन गर्नुभएको थियो । उहाँको यो समर्थनप्रति नेपालमा स्वागत गरिए पनि भारतीय सञ्चारमाध्यमले तीखो आलोचना गरेका थिए ।