काठमाडौं:= सर्वोच्च अदालतले प्रतिनिधसभा पुनःस्थापना गरेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश दिएको छ । यो सँगै नेपाली राजनीति बृत्तमा सोमबार उथलपुथल नै भयो । देशभर विभिन्न ठाउँमा नारा जुलुस चले । अहिले प्रतिनिधि सभा पुनःस्थापनासँगै हाल फैसलाको पक्ष र विपक्षमा बहस भइरहेका छन् ।
यसैबीच राजनीतिमा चासो राख्ने कलाकारले यस विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी गरिरहनुभएको छ । कलाकार दीपकराज गिरीले प्रधानमन्त्री जो भए पनि देशको अवस्था उस्तै रहने बताउनु भएको छ । उहाँले संविधान निर्माणमाथि नै प्रश्न उठाउँदै भन्नुभएको छ, ‘कठै चार वर्ष लगाएर कस्तो संविधान बनाएछन् ?’ यस्तै, हास्य कलाकार मनोज गजुरेलले पनि सर्वोच्च अदालतको निर्णयलाई अचम्मको निर्देशन भनी टिप्पणी गर्नुभएको छ । उहाँले नेपालका राजनीतिक दलहरुलाई टम एण्ड जेरी, मुसो र बिरालोसँग तुलना गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘अचम्म निर्देशन ः अनौठा फिलिम, टम एण्ड जेरी ! मुसो र बिरालो ! ओली र अन्य ! अदालत र देउवा ! त्यसपछि, को र के ? भविष्यवाणी गर्नुहोस् ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै सर्वोच्चले बदर गरेको हो ।
आदेशमा एक साताभित्र प्रतिनिधि सभा आहृवान गर्न भनिएको छ । आदेश अनुसार अब आगामी साउन ३ गते अपराहृन ५ बजेभित्र प्रतिनिधिसभा आहृवान गरिसक्नुपर्नेछ । २०७८ साल जेठ ७ गते रातिका सम्पूर्ण कामकारबाही उत्पेषणको आदेशले बदर हुनेछ भनिएको छ । त्यसैगरी, प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदनकको माग बमोजिम कांग्रेस सभापति शेरबहाखदुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ । अदालतले भोलि २९ गते साँझ ५ बजेसम्म देउवालाई विधि र प्रक्रिया पूरा गरी प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यलययलाई परमादेश जारी गरेको हो ।




















