इथियोपियामा प्रधानमन्त्री पदमा अबी अहमद भारी बहुमतका साथ विजयी।

एजेन्सी (अडिस अबाबा) := इथियोपियाको आमनिर्वाचनमा प्रधानमन्त्री अबी अहमद भारी बहुमतका साथ विजयी हुनुभएको छ । चुनावमा अहमदले भारी बहुमत प्राप्त गरेको निर्वाचन बोर्डले जनाएको छ ।

बोर्डका अनुसार अबीले ४३६ मध्ये ४१० सिटमा जित हासिल गर्नुभएको छ । योसँगै प्रधानमन्त्री अबी अब थप पाँच वर्ष देशको नेतृत्वमा रहनुहुनेछ। यद्यपि इथियोपियाको केही भागमा जारी तनावका कारण ठूलो संख्या मतदानमा सहभागी हुन पाएनन् । द्वन्द्वग्रस्त टिग्रे क्षेत्रमा मतदान भएको छैन ।

त्यहाँ जारी तनावमा हजारौं सर्वसाधारणले अकालमा ज्यान गुमाइरहेका छन् ।छुटेका केही निर्वाचन क्षेत्रमा आगामी सेप्टेम्बर ६ मा चुनाव हुने भनिए पनि टिग्रेमा चुनाव हुने निश्चित नभएको अधिकारीले जनाएका छन्। इथियोपियामा कोरोना भाइरसको महामारीका कारण यसअघि चुनावको मिति सर्दै आएको थियो । अबीले आगामी अक्टोबरमा नयाँ सरकार बनाउने बताइएको छ।