बाढीपीडितको पालमुनि बास।

महेन्द्रनगर:= कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीघाटका तौला राना प्वाल परेको पाल टाँगेर बसिरहनुभएको थियो । आइतबार बिहानदेखि परेको अविरल वर्षाका कारण स्थानीय भुजेला खोलामा आएको बाढीले रानाको घर डुबान भएपछि उहाँ प्वाल परेको पाल टाँगेर बस्न बाध्य हुनुभएको हो । ‘बिहानदेखि पानी परेर यो भुजेला खोलामा आएको बाढीले घरभित्र पूरै पानी भरिएको

छ’ रानाले भन्नुभयो, ‘घर भित्र पानी भएकाले यो उच्चो ठाउँमा पाल टाँगेर बसेका छौँ ।’ घर डुबान भएपछि आफू र आफ्नो परिवारको विचल्ली भएको रानाले बताउनुभयो । ‘घर पूरै पानीले भरिएको छ । यता यो प्वाल परेको पाल भए पनि टाँगेर बसेका छौँ ।’ रानाले भन्नुभयो, ‘बर्खाको समय साप (सर्प) किराको डर पनि छ । तर के गर्ने पानी भरिएको घरभन्दा यही ठिक छ ।’ यस्तै, सञ्जिता सोनाहा पनि आफ्ना साना चार जना बच्चासहित पालमुनि बस्न बाध्य हुनुहुन्छ । घरमा पानी भरिएपछि आफूहरू पाल टाँगेर बसेको उहाँले बताउनुभयो ।

‘पानीले घर डुबान भएपछि यसरी पाल टाँगेर बस्न बाध्य छौँ ।’ सोनाहाले भन्नुभयो, ‘बर्खाको समय यी साना नानीबाबुलाई यसरी पाल टाँगेर राख्न सर्प, किरा र नजिकैको महाकाली नदी र खोलाको डर छ ।’ त्यस्तै, ७० वर्षीया दयावती सोनाहा पनि एक्लै पालमुनि बस्न बाध्य हुनुहुन्छ । ‘घरमा पानी भरिएको छ, छोरा बुहारी पनि छैनन्, घरभित्र रहेको अन्न सबै पानीले भिजेको छ ।’ दयावतीले भन्नुभयो, ‘अन्न सबै पानीले भिजाएपछि खानेकुरा पनि केही छैन ।’ उहाँले अगाडि थप्नुभयो, ‘यो पाल टाँगेर त बसे तर भित्र खानलाई के गर्ने ? मलाई अहिले खानाको कमी छ ।’ राना, रञ्जिता र दयावती जस्तै आठ÷दश परिवारको समस्या उस्तै छ । ‘नेताहरू चुनावको बेला भोट हाल्न घरमै लिन आउँथे ।’ सञ्जिताले भन्नुभयो, ‘तर अहिले हामीलाई समस्या पर्दा अहिलेसम्म कोही पुग्नुभएको छैन ।’

यता, भीमदत्त नगरपालिका-१२ का वडाध्यक्ष कृष्ण सिंह देउपाले बाढीबाट विस्थापितहरूको व्यवस्थापनका लागि नजिकैको विद्यालयमा बस्ने व्यवस्था गरिएको बताउनुभयो । ‘अहिले पानी अलि घटिसकेको छ, अस्ति पनि बाढी आउँदा उनीहरूलाई नजिकैको विद्यालयमा राखेका थियौं, अझै वर्षा भएपछि हामीले विद्यालयमा राख्ने व्यवस्था मिलाएका छौँ ।’ वडाध्यक्ष देउपाले भन्नुभयो, ‘खाद्यान्न राहतको लागि वडासँग कुनै बजेट हुँदैन, त्यसैले हामीले खाद्यान्न राहतका लागि जिल्ला विपद् व्यवस्थापनलाई खबर गरिसकेका छौं ।’ हरेक वर्ष बाढीका कारण ऐरीघाटका बासिन्दा यसरी नै वर्षाभरि पालमुनि बस्न बाध्य छन् ।