इङ्ग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटली युरोकप च्याम्पियन।

एजेन्सी:= यूईएफए युरो कप अन्तर्गत राती सम्पन्न फाइनल खेलमा इङ्ग्ल्याण्डलाई हराउँदै इटली च्याम्पियन बनेको छ। लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा जित निकाल्दै इटली च्याम्पियन बनेको हो।

यसअघि निर्धारित ९० मिनेटमा एक-एक गोलको बराबरी भएपछि खेल थप समयमा गएको हो । खेलको दुई मिनेटभित्रै इङ्ल्यान्डका लुक शले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म इङ्ल्यान्डले एक गोलको अग्रता लिन सफल भयो ।

तर खेलको ६७ औँ मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै खेल एक-एक गोलको बराबरीमा फर्काए । निर्धारित समयसम्म खेल १-१ को बराबरीमा रोकिए पछि फाइनल खेल अतिरिक्त समयमा टाँगिएको थियो। यद्यपि अतिरिक्त समयमा पनि दुबै पक्षले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टीमा इटलीले ३-२ गोलअन्तरले जित निकाल्यो। इङग्ल्याण्डका मार्कस रासफोर्ड, जोर्डन साञ्चो र बुकायो साका पेनाल्टीमा चुकेका थिए। इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो एक पटकको च्याम्पियन इटलीले भने चौथो पटक फाइनल खेलेको हो । इटली सन् १९६८ को युरो कपको च्याम्पियन बनेको थियो ।