ढल निकास नहुँदा कपिलवस्तुको कृष्णनगर बजार डुबानमा।

[ राम अवतार चाैधरी ] 

कपिलवस्तु:= कपिलवस्तुमा अविरल बर्षातका कारण कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ । जिल्लाकै ठूलो भन्सार नाका भएकाे कृष्णनगर नगरपालिका वडा नं. २ को मस्जिद रोड, नगरपालिका रोड, बैंक रोड लगायत बजार क्षेत्र डुबानमा परेकाे हाे । पानी निकासको लागि ढल निकास नहुँदा बजार क्षेत्र डुबानमा परेको बताइएको छ ।

विगतका समय देखि आम नागरिकको समस्यालाई मध्यनजर गर्दै ढल निकास व्यवस्थापन तथा नाली निर्माणका लागि आर्थिक बर्ष ०७८-०७९ मा १ करोड बढि बजेट विनियोजन गरिएको नगर प्रमुख रजत प्रताप शाहले बताए । सुरुको तीन बर्षमा सडक विभागले हामी बनाउँछौ भनेकोले नगरपालिकाले त्यसतर्फ ध्यान केन्द्रित नगरेकाे उनले जनाए ।

आगामी आर्थिक बर्षका लागि १ करोड भन्दा बढि रकम बिनियाेजन गरिएकोमा शिव विडि फैक्ट्रि देखि सिनेमा हल हुँदै सेमरा सम्म २ मिटर चौडाइ रहने गरी ढल निकास बनाउने याेजना रहेकाे नगर प्रमुख शाहले जानकारी दिए । उनले भने “विगत भन्दा अहिले हामी धेरै परिवर्तन गरेका छाैँ ।” सबै समस्याको समाधान एकैपटक नहुने भएकाेले क्रमशः समाधान गर्दै जानेमा आफू प्रतिबद्ध भएकाे शाहले बताए ।