म्याग्दी:= म्याग्दीको सदरमुकाम बेनी बजार आसपासमा जताततै पहिरो खसेपछि यहाँस्थित विद्यालय र सरकारी कार्यालय जोखिममा परेका छन् । अविरल वर्षाका कारण खसेको पहिरोका कारण बजार क्षेत्रमा जोखिम बढेको छ । बेनीको न्यूरोड स्थित घतानचोकमा हिलसाइडबाट खसेको पहिरोले दुई घरमा क्षति पु–याएको छ भने केही घर जोखिममा परेका छन् ।
यसैगरी बेनी सामुदायिक विद्यालय नजिक बराहपाखोबाट रुख सहित ठूलो पहिरो खसेको छ । पहिराका कारण बेनी – अर्थुङ्गे सडक पूर्णरुपमा बन्द भएको छ । पाखो चर्किएकाले जतिबेला पनि पहिरो जानसक्ने खतरा बढेको छ । पहिरोका कारण बेनी सामुदायिक विद्यालय र तीनवटा सरकारी कार्यालयहरु जोखिमा परेका छन् । पहिरोका कारण खानेपानी तथा सिंचाइ,बन डिभिजन र पशु तथा भेटेरिनरी लगाएत कर्मचारी आवासगृह समेत जोखिममा परेका हुन् ।
यसैगरी महारानीथान नजिक पनि माथि पाखोबाट ठूलो पहिरो खसेको छ । यहाँ खसेको पहिराका कारण बेनी नगरपालिका ७ मंगलाघाट बजार जोखिममा परेको स्थानीय कृष्णबहादुर बानियाँले बताउनु भयो । ठूल्ठूला ढुङ्गासहितको पहिरो खसेकाले बजार क्षेत्र जोखिममा परेको बेनी नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । बस्तीमाथिबाट ठूला ढुङ्गासहितको पहिरोखसेको उहाँले बताउनु भयो ।
ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध
वर्षासंगैको पहिरोका कारण सडक जिल्लाका प्रायः सवै ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । विभिन्न ठाउँमा खसेको पहिराका कारण बेनी – दरबाङ सडक र बेनी – जोमसोम सडक बन्द भएका छन् ।
त्यसैगरी बेनी–बगरफाँट–भकिम्ली,बेनी–वरंजा,बेनी–अर्थुंगे–पुलाचौर,बेनी–घतान,बेनी–पाखापानी लगाएतका एक दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरो र बाढीले सडक भत्काएका कारण सडक बन्द भएको म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताउनु भयो ।
सडक खुलाउन दुईतीन दिन लाग्न सक्ने उहाँले जानकारी दिनुभयो । यसैगरी जिल्लाका अन्य ग्रामीण सडकहरु पनि पूर्णरुपमा बन्द भएका छन् । सडक खुलाउने प्रयास भैरहेको छ । सडक बन्द हुँदा जनजीवन प्रभावित भएको छ ।




















