काठमाडौं:= बंगलादेश आयोजनाबाट पछि हटेपछि नेपालमा १३औं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आयोजना हुने सम्भावना बढेको छ । १३औं संस्करणको साफ यस वर्ष बंगलादेशमा हुने तय थियो । प्रतियोगिताका लागि सेप्टेम्बर १४ देखि २५ सम्मको समय निर्धारण गरिएको थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने जनाएपछि नेपालले साफ आयोजनामा दाबी प्रस्तुत गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधरले बताउनुभयो ।
‘नेपालसँगै श्रीलंकाले पनि दाबी प्रस्तुत गरिरहेको छ । जसले १० लाख डलर तिर्न सक्छ प्रतियोगिता उतै हुनेछ । त्यो पैसा जुटाउन हामीले सरकारसँग पनि अनुरोध गरिरहेका छौं,’ तुलाधरले भन्नुभयो, ‘आयोजना पाउने हिसाबले प्रारम्भिक तयारीहरू गरिरहेका छौं ।’
साफ आयोजनाका लागि नेपाल सरकारसँग साढे तीन करोड रुपैयाँ माग गरिएको तुलाधरले बताउनुभयो । उहाँले साफ फुटबलको बजार मूल्य करिब १० करोड रहेको बताउँदै सरकार त्यसमा सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालले गत चैतको दोस्रो साता त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ । विश्वकप छनोटका खेल नेपालमा नहुने देखिएपछि एन्फाले कीर्गिस्तान र बंगलादेशलाई आमन्त्रण गरेर त्रिदेशीय फुटबल आयोजना गरेको थियो । दर्शकसहित प्रतियोगिता आयोजना गरेर नेपालले तीन करोड बढी रकम आम्दानी गरेको थियो । नेपालले प्रतियोगिताको उपाधिसमेत हात पारेको थियो ।
आयोजक बंगलादेशले मुख्य तीन कारण देखाउँदै साफ आयोजनामा हात झिक्ने निर्णय गरेको छ । बंगलादेशले कोरोनाको असर, मुख्य प्रायोजकको खडेरी र बंगबन्धु रंगशालाको पुनर्निर्माण यसै वर्ष गर्नुपर्ने भएकाले प्रतियोगिता आयोजना गर्न नसक्ने बताइसकेको छ ।
दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ नेपालले अहिलेसम्म जित्न सकेको छैन । भारत साफ फुटबलको सर्वाधिक सफल देश हो । साफको तयारीका लागि नेपालले प्रशिक्षणसमेत सुरु गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा राखेर अभ्यास गराइरहनुभएको छ ।
बन्द प्रशिक्षणका लागि अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ र अनन्त तामाङ छनोट हुनुभएको छ ।
यसैगरी अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, दोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत र निशान खड्का पनि बन्द प्रशिक्षणका लागि छनोटमा पर्नुभएको छ ।
यस्तै छनोट गरिएका अन्य खेलाडीमा नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सन्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यू ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहनुभएको एन्फाले जनाएको छ ।




















