युरोकपको उपाधिका लागि इंग्ल्याण्ड र इटली भिड्दै, ‘हेड टु हेड’मा को बलियो?

एजेन्सी := युरोकप २०२० अन्तर्गत आइतबार राति लण्डनस्थित वेम्वली स्टेडियममा इंग्ल्याण्ड र इटलीबीच उपाधि भिडन्त हुँदैछ । दुवै टोली एक अर्कालाई स्तब्ध पार्दै उपाधि उचाल्ने दाउमा रहेका छन् ।

एक पटकको विजेता इटली ९ वर्षपछि फाइनल पुगेको हो भने इंग्ल्याण्ड पहिलो पटक पुगेको हो । सन् १९६६ मा घरेलु मैदानमै विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको हो । इटलीले यसअघि सन् १९६८ मा घरेलु मैदानमै युरोकपको उपाधि जितेको थियो । त्यसयता २००० र २०१२ को फाइनल पुगेको इटली पराजित भएको थियो ।

इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो। यस अघि इटालीले विश्वकपमा ६ र युरोमा ४ पटक फाइनल खेलिसकेको छ।​ सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले उपाधि यात्रा तय गरेको हो । इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो।

हालसम्म इंग्ल्याण्ड र इटलीबीच २७ वटा खेल भएका छन् जसमा इटली हाबी देखिन्छ । इटली ११ पटक विजयी हुँदा इंग्ल्याण्ड ८ पटक जिवयी भएको छ । ८ पटक भने बराबरी खेलेका छन् । ३४ वर्षीय डिफेण्डर लिओनार्दो बोनुचीसँगै ३६ वर्षीय सेन्टर ब्याक जर्जियो किलिएनीले इटलीको डिफेन्स लाइन सम्हाल्नेछन् । तर, यता इंग्ल्याण्डमा भने खेलाडीको औसत उमेर २५ वर्ष छ ।