एनआरएनएद्वारा पहिलो चरणमा बाढी पीडितका लागि रु. १ करोड रुपैयाँ हस्तान्तरण।

काठमाडौं:= गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा हालै आएको विनाशकारी बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत, उद्धार र मानवीय सहयोगका लागि पहिलो चरणमा रु. १ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।

संघका अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो। एनआरएनएका पदाधिकारी, अभियन्ता तथा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मार्फत संकलित सहयोग रकममध्ये पहिलो चरणमा रु. १ करोड सरकारको राहत कोषमा जम्मा गरिएको संघले जनाएको छ।

एनआरएनएले यसअघि बाढी तथा डुबान प्रभावित नागरिकका लागि कुल रु. ५ करोड राहत तथा मानवीय सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। सोही अभियानअन्तर्गत संघको टोली प्रभावित रसुवा र नुवाकोट पुगेर जिल्ला विपद् व्यवस्थापन समिति तथा सम्बन्धित निकायसँग समन्वय गर्दै राहत सामग्री वितरण तथा हस्तान्तरण गरिसकेको छ।

राहत, पुनर्स्थापना र पुनर्निर्माणमा एनआरएनएसँग सहकार्य गर्छौं : मन्त्री खनाल

रकम हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले विपद्बाट भएको ठूलो क्षतिको पुनर्स्थापना र पुनर्निर्माण सरकार एक्लैले गर्न कठिन हुने भएकाले एनआरएनएसँग सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले विपद्को कठिन घडीमा प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गर्नुका साथै रु. ५ करोड सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा एनआरएनएलाई सरकारका तर्फबाट धन्यवाद दिनुभयो।

मन्त्री खनालले हालको विपद् सामान्य बाढीभन्दा फरक र अत्यन्त ठूलो प्रकृतिको रहेको उल्लेख गर्दै रसुवा र नुवाकोटका विभिन्न बस्तीमा ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएको बताउनुभयो।

सरकारले अघि सारेको एकद्वार प्रणालीलाई कायम राख्दै एनआरएनएले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरेर राहत वितरण गर्न सक्ने उहाँको भनाइ थियो। राहत वितरणअघि र पछि आवश्यक विवरण सरकारलाई उपलब्ध गराउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

विदेशमा रहेका नेपालीसँग रहेको सीप, अनुभव र विशेषज्ञतालाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा उपयोग गर्न एनआरएनएसँग सहकार्य गरिने मन्त्री खनालले बताउनुभयो।

राहतसँगै पुनर्निर्माणमा पनि सरकारसँग सहकार्य गर्छौं : अध्यक्ष शर्मा

एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले विनाशकारी बाढी तथा डुबानबाट भएको जनधनको क्षतिप्रति संघ मर्माहत भएको बताउँदै प्रभावित नागरिकलाई सहयोग पुर्‍याउन संघले रु. ५ करोड राहत तथा मानवीय सहयोग गर्ने घोषणा गरेको जानकारी दिनुभयो।

उहाँले एनआरएनएको टोलीले रसुवा र नुवाकोटमै पुगेर सम्बन्धित निकायसँग समन्वय गरी राहत सामग्री वितरण गरिसकेको बताउनुभयो। सरकारको एकद्वार प्रणालीअनुसार प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत तथा मानवीय सहायता उपलब्ध गराउनुका साथै पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो।

बाँकी सहयोग रकम पनि अभियानमार्फत संकलन हुँदै गएपछि क्रमशः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्दै जाने अध्यक्ष शर्माले बताउनुभयो।

उहाँले विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा समेत नेपाल सरकारसँग सहकार्य गर्न एनआरएनए तयार रहेको स्पष्ट पार्दै विदेशमा रहेका नेपालीसँग भएको दक्षता, सीप, अनुभव र विशेषज्ञतालाई पुनर्निर्माणमा उपयोग गर्न सकिने बताउनुभयो।

‘विपद्को समयमा गैरआवासीय नेपाली नेपालसँगै छन्’ : डा. महतो

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विपद्को यस कठिन घडीमा विदेशमा रहेका नेपालीहरू नेपालसँगै रहेको बताउनुभयो।

उहाँले राहत सामग्री वितरण, स्वास्थ्य शिविर सञ्चालन, औषधि तथा चिकित्सकीय सेवा उपलब्ध गराउनेदेखि पुनर्निर्माणसम्मका कार्यमा एनआरएनए प्रत्यक्ष रूपमा सहभागी हुन तयार रहेको बताउनुभयो।

विदेशमा रहेका नेपाली तथा विदेशी मित्रहरूबाट थप सहयोग जुटाउन सरकार र एनआरएनएबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गर्दै डा. महतोले गैरआवासीय नेपालीलाई विश्वासिलो साझेदारका रूपमा परिचालन गर्न सरकारसँग आग्रह गर्नुभयो।

कार्यक्रममा एनआरएनएका प्रमुख संरक्षक डा. बद्री केसी, भिम उदासलगायत संघका पदाधिकारी, अभियन्ता तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यसैबीच, फरक प्रसङ्गमा परराष्ट्रमन्त्री खनालले एनआरएनएका अन्य चासोका विषयमा पनि मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो। अध्यागमन, सम्पत्ति खरिदलगायतका विषयलाई सम्बोधन गर्न एनआरएनएसम्बन्धी कानुन संशोधनको प्रस्ताव कानुन मन्त्रालयमा पठाइसकिएको र विपद्को अवस्था सामान्य भएपछि अन्य विषयमा पुनः छलफल गरिने उहाँले बताउनुभयो।