सक्रिय बन्दै मनसुन, देशका विभिन्न स्थानमा बाढी-पहिरोबाट जनधनको क्षति।

बिहीबारसम्म ५१ जनाको मृत्यु, २९ बेपत्ता, ७१ घाइते

काठमाडौं:= मनसुन सुरु भएयता बाढी–पहिरोलगायत विपत्तिमा परेर बिहीबारसम्म ५१ जनाको मृत्यु भएको छ । यस्तै, २९ जना बेपत्ता भएका छन् भने अन्य ७१ जना घाइते भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ । बुधबारदेखि मनसुनी वायु फेरि सक्रिय भएकाले थप क्षतिको सम्भावना बढेको छ ।

कार्यालयका अनुसार बिहीबार साँझसम्म बाढीको कारण एक हजार ५१६ वटा घर डुबानमा परेका छन् । ५६४ वटा घर, ९९ वटा गोठ, ४२ वटा पुल, तीन वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ८५९ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा भएका जम्मा ५३९ वटा विपद्का घटनाबाट एक हजार १५८ वटा घर परिवारका पाँच हजार ४२३ जना मानिस विस्थापित भएका छन् ।

अहिले बाढी–पहिरोले मुलुक आक्रान्त बनेको छ । पहाडी क्षेत्रमा खहरे खोलाहरू उर्लेर बाढीपहिरो आएको छ भने तराई क्षेत्रमा पानीको निकास नहुँदा डुवानमा परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रबाट यो वर्ष बाढी–पहिरोको बितण्डा सुरु भएकोमा अहिले देशका अधिकांश स्थान यसको चपेटामा परिसकेको छ । कैयौंले ज्यान गुमाएका छन् भने सयौं विस्थापित भएका छन् । राज्यको सीमित क्षमताले एकैपटक आइलागेका यी घटनालाई सम्बोधन गर्न कठिन भएको छ । आवश्यक मात्रामा उद्धार हुनसकेको छैन भने राहत पु¥याउने काम पनि भनेजति हुन सकेको छैन । विस्थापितहरूको बिचल्ली छ । बाढी–पहिरोका यी घटनाबाट के–कति नोक्सान भयो भन्ने मोटामोटी अनुमान मात्र गर्न सकिन्छ, यकिन गर्न धेरै समय लाग्छ ।

यसैबीच, दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । बुधबार राति भएको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो । जिल्लाको नौगाढ गाउँपालिका–३ खार नजिकैको चौखुट्टेमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

मृत्यु हुनेमा ७२ वर्षीया गेउली ठगुन्ना र तीन महिनाकी नातिनी मञ्जरी ठगुन्ना हुनुहुन्छ । त्यस्तै, घट्ट जान हिँड्नुभएका २९ वर्षीय लक्ष्मण सितोलीकोे पनि पहिरोमा पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) मनोहर भट्टले बताउनुभयो । उहाँका अनुसार नन्दु ठगुन्नाको दुई तला भएको चार कोठे दुई वटा घरमध्ये एकवटा घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने गोठे टमटाको घरमा पनि क्षति भएको छ ।

पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको शव बिहीबार बिहान स्थानीयको सहयोगमा निकालिएको छ । पहिरोमा परी १८ वर्षीया हरमति ठगुन्ना सामान्य घाइते हुनुभएको छ । अविरल वर्षापछि आएको बाढीले बगाएर खार र जामिर जोड्ने झोलुंगे पुल, तीन वटा निर्माणाधीन आरसिसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहानमा पनि क्षति पु¥याएको छ । यस्तै, पहिरोले नौगाड-३ मा रहेको ३२ किलोवाटको खार दोस्रो जलविद्युत् आयोजना पनि बगाएको छ । यता, स्वास्थ्य चौकी भवन बाढीको उच्च जोखिममा परेको छ ।

यस्तै, पाल्पामा बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी अन्य ६ जना घाइते छन् । तिनाउँ गाउँपालिका–५ गिट्टी खानी, हिउँदे खोला क्षेत्रमा माथिबाट झरेको पहिरोले घर बगाउँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको हो । पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

पहिरोले घर बगाउँदा सोही ठाउँका रमेश परियारको चार वर्षीय छोरा आरोप परियार पनि मृत्यु भएको हो । तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले पुरिएको छ ।

पहिरोले स्थानीय २६ वर्षीय रमेश परियार, २४ वर्षीया पूजा परियार, ५० वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दीलबहादुर राना र दिपेश पुन घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँहरूको अवस्था सामान्य नै रहेको छ । घाइतेहरूको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । पहिरोको कारण सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डसमेत बन्द भएको छ ।

यता, अविरल वर्षाका कारण घर भत्किँदा दाङमा तीन महिनाकी शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घरको भित्ता भत्कँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै, पहिरोमा परेर तनहुँमा पनि एकजनाको मृत्यु भएको छ ।

तराईमा डुवानको समस्या

पहिरोले पहाडी क्षेत्रमा असर पुर्‍याउँदा बाढीले तराई क्षेत्रमा डुवान सुरु भएको छ । मोरङ, झापा, सुनसरी, पर्सा, सप्तरी, नवलपरासीलगायतका जिल्लाहरूमा अहिले स्थानीय खोला–नदीहरूले कटान शुरु गरेका छन् । बिहीबार मात्र मोरङको रतुवामाई नगरपालिका-७ राजाबासास्थित सिजुवा गाउँमा रतुवामाई खोलाको बाँध फुटेर डुबान परेको छ । यहाँका करिब २० घरपरिवालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । यस्तै, झापाको झापा गाउँपालिका-१ मिलन बस्तीमा वर्षाको कारण माईखोलामा आएको बाढीको कारण डुवानमा परेका करिब ८५ घरपरिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

दैनिक अवरुद्ध हुँदै नारायणगढ-मुग्लिङ सडकखण्ड

नारायणगढ–मुग्लिङ सडकखण्ड देशकै राजधानी भित्रने प्रमुख राजमार्गमध्येको एक हो । यहाँ दैनिक सयौं सवारीसाधनमा हजारौं सर्वसाधारणले यात्रा गर्ने गर्छन् । कुनै न कुनै कारणबाट दैनिक यो राजमार्गमा सवारी जाम हुने नै गरेको छ । पछिल्लो पटक भने राजमार्गका विभिन्न ठाउँमा गएका पहिरोको कारण सवारी जाम हुने गरेको छ । यस पटकको पहिरो भने प्राकृतिक नभई मानिसले नै निम्त्याएको विकासको परिणाम हो ।

राजमार्गका सडकलाई फराकिलो बनाउने उद्देश्यले पहाड कटान गर्दा अधिकांश ठाउँ कमजोर बन्न पुगेका छन् । त्यसैको परिणाम अहिले सानो वर्षामा पनि पहाडबाट ठूला ठूला चट्टानसहित पहिरो झर्ने गरेको छ । हुनत यस राजमार्ग भएर यात्रा गर्नेहरूका लागि यहाँ हुने सवारी जाम कुनै नयाँ कुरा होइन । साना ठूला सबै सवारी साधन गुड्ने यस राजमार्गमा दैनिक जसो कुनै न कुनै दुर्घटना भएकै हुन्छ । दुर्घटनासँगै हुने प्रदर्शन र सडक बन्द गरिहाल्ने प्रवृत्ति यहाँको लागि नौलो होइन । सवारी जामकै कारण २४ घण्टाभन्दा बढी समय राजमार्गमै बस्नुपरेको उदाहरण हामीसामु धेरै छन् ।

प्रायः हरेक बर्ष असार महिनामै यहाँ समस्या देखिने गरेको छ । अन्य समयमा दुर्घटनाबाट हुने बन्द बाहेक राजमार्गमा समस्या देखिँदैन तर वर्षा सुरु हुनासाथ अनकौं समस्याहरू यस राजमार्गमा देखिने गरेका छन् । यस वर्ष पनि असारको पहिलो सातादेखि नै राजमार्गमा पहिरो खस्ने क्रम सुरु भयो केही पुरानो र केही नयाँ ठाउँमा अहिले पहिरो गइरहेको छ । पहिरो खसे पनि राजमार्गका ठाउँ–ठाउँमा तैनाथ स्काभेटरको सहयोगमा राजमार्ग त खुलाइन्छ तर यसको दीर्घकालीन समाधान भने हुन सकेको छैन । यी राजमार्गसहित पाल्पा–बुटवल सडकखण्ड, म्याग्दी–जोमसोम खडकखण्ड, अरनिको राजमार्ग, नवलपुरको कावासोती सडकखण्ड, मनाङको तिमाङ खोला, धारापानी, बगरछाप, लमजुङको रामबजार, अर्खले र च्याम्पेमा सडक, रसुवाको त्रिशूली खोला, सानो भार्खु, गाँजाबारी, सिन्धुपाल्चोकको कोदारी, तनहुँको भन्सारलगायतका राजमार्गहरू पनि पहिरोको उच्च जोखिममै रहेका छन् । तर, यसको पनि दीर्घकालीन समाधान हुन सकेको छैन ।

गत तीन सातामा बाढी र पहिरोले विभिन्न राजमार्गका १०६ ठाउँमा क्षति पुगेको छ । जसमध्ये ३६ ठाउँमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । बाढी र पहिरोका कारण ५८ ठाउँमा एकतर्फी सडक सञ्चालन भइरहेको छ ।

अझै तीन दिन वर्षा हुने, सतर्कता अपनाऔं-महाशाखा 

मनसुनी वायुको प्रभावले बुधबार रातिदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जसका कारण देशभर वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार र शनिबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

‘आसपासका क्षेत्रमा रहेका खोला नाला बढ्न सक्ने, पहिरो जान सक्ने र बाटोहरू बन्द हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाएको छ । महाशाखाका अनुसार मनसुनी वायु अझै केही दिन सक्रिय रहनेछ ।

गत जेठ २८ गतेबाट नेपालमा मनसुन भित्रिएको हो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भएका क्षतिको व्यवस्थापन र अबका दिनमा त्यसको न्यूनीकरणका लागि सामूहिक पहल गरिरहेको जनाएको छ । यो वर्ष हालसम्म सबैभन्दा बढी सिन्धुपाल्चोक र मनाङमा क्षति भएको प्राधिकरणले जनाएको छ । सार्वजनिक प्रतिवेदनअनुसार यी दुई जिल्लासहित मनसुनी प्रकोपका कारण देशका २६ जिल्ला प्रभावित बन्न पुगेका छन् । मनसुनी विपतका कारण देशका विभिन्न प्रमुख राजमार्ग अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ ।

गत वर्षको वर्षायामको करिब चार महिनाको छोटो अवधिमै सयौं मानिसको अकालमा ज्यान गएको थियो । बर्सेनि यो संख्या बढ्दै गइरहेको दुःखद स्थिति छ । भन्ने गरिन्छ, प्राकृतिक प्रकोप बिगुल बजाएर आउँदैन । जो कोही यसको शिकार हुन सक्छन् । प्राकृतिक प्रकोप मानिसको नियन्त्रणभन्दा बाहिरको विषय हो । मानिसले प्रकृतिसँग पौंठेजोरी खेलेर आफ्नो बसमा ल्याउन सक्ने सामथ्र्य अहिलेसम्म हासिल गर्न सकेको छैन । बरु, प्रकृतिसँग मिलेर बस्न सकेमा नै मानिसलाई आइलाग्ने जोखिम एवं विपद् कम गराउन सकिन्छ ।