चीनद्वारा जल तथा मौसमको अध्ययन गर्ने स्याटेलाइट प्रक्षेपण।

एजेन्सी := चीनले जल तथा मौसमको अध्ययन गर्ने स्याटेलाइट प्रक्षेपण गरेको छ । अन्तरीक्षमा रहेर जल तथा मौसमको अध्ययन गर्ने विश्वकै पहिलो स्यटेलाइटको रूपमा चीनले सोमबार फेन्गुइन-थ्रीई स्याटेलाइट प्रक्षेपण गरेको हो ।

विज्ञहरूले प्रक्षेपणप्रति उत्साह व्यक्त गर्दैै मौसमको तथ्यांकमा हुने कमीकमजोरीलाई सच्याउँदै विश्व जल तथा मौसमबारे अध्ययन गर्नेछ । सोमबार बिहान उत्तरपश्चिम चीनको जिक्वान स्याटेलाइट लन्च सेन्टरबाट लङ मार्च-फोरसी रकेटमा हालेर उक्त स्याटेलाइट अन्तरीक्षमा पठाइएको हो । स्याटेलाइटले चीनको मौसम भविष्यवाणीलाई तथ्यपरक बनाउने र जल तथा मौसम अन्वेषणलाई थप सुद्धढ बनाउने आशा चीनले लिएको छ । आठ वर्ष लगाएर बनाइएको उक्त स्याटेलाइटमा ११ वटा रिमोट सेन्सर समेत जडान गरिएको छ ।

अन्तरीक्षयात्रीहरूकोे ‘स्पेस वाक’

यसैबीच चीनको आफ्नै अन्तरीक्ष स्टेसनमा रहेका अन्तरीक्षयात्रीहरूले सफलतापूर्वक स्टेसन बाहिर निस्किएर अन्तरीक्षमा हिँडेका छन् । चिनियाँ अन्तरीक्षयात्रीहरूको योे ‘स्पेस वाक’लाई चीनको तीव्र गतिमा विस्तार गरिरहेको अन्तरीक्ष कार्यक्रमका लागि कोशेढुंगा मानिएको छ ।

यसअघि सन् २००८ मा शेन्झोउ ७ अन्तरीक्ष मिसनमा गएका अन्तरीक्षयात्रीहरू यान बाहिर निस्किएर अन्तरीक्षमा हिँडेका थिए । चीनको मानव अन्तरीक्ष एजेन्सी (सिएमएसए) का अनुसार अन्तरीक्ष स्टेशनमा रहेका तीन जना मध्ये दुईजना आइतबार बिहान मुख्य मोड्युलबाट बाहिर निस्किएर अन्तरीक्षमा विचरण गरेका थिए । स्पेस वाकका क्रममा उनीहरूले नयाँ संस्करणको स्पेसशुटको परीक्षण गर्नुका साथै उपकरणहरू इन्स्टल गरे, प्यानोरमिक क्यामराले दृश्यहरू खिचे र स्टेसनको रोबोटिक हातको पनि परीक्षण गरे ।

एजेन्सीका अनुसार अन्तरीक्षयात्रीहरूको आगामी तीन महिनामा हुने अर्बिटल उडानका क्रममा अर्को स्पेस वाक हुनेछ । यो चीनको सबैभन्दा लामो मानव अन्तरीक्ष मिसन हो । स्मरण रहोस् चीनले यसअघि गत डिसेम्बरमा चन्द्रमामा र मे महिनामा मंगल ग्रहमा अनुसन्धानमूलक रोबर उतारिसकेको छ ।