हेलम्बुका बाढीपीडितलाई राजेशको सहयोग।

सिन्धुपाल्चोक := सिन्धुपाल्चोकमा गएको बाढीबाट जनधनको क्षति भएसँगै कलाकारहरू राहत वितरणमा सक्रिए देखिएका छन् । केही समयअघि नेपाली चलचित्र तथा विभिन्न गीतसंगीतका कलाकारहरू राहत सामग्री लिएर सिन्धुपाल्चोक नै पुगिररहनु भएको थियो । यसैबीच नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल पनि सिन्धुपाल्चोक पुगेर राहत वितरण गर्नुभएको छ ।

सोमबार सिम्रिक एयरको हेलिकप्टरमा सवार भएर हेलम्बु र पाँचपोखरी पुगेर राजेशले त्यहाँका बाढी प्रभावितलाई सोलार, स्वास्थ्य सामग्री र नगद सहयोग गर्नुभयो । राजेशले त्यहाँका बाढीपीडितको अवस्थाबारे जानकारी लिनुभएको थियो । स्थानीयले उहाँलाई भव्य स्वागत गरेका थिए ।

हेल्प अर्गनाइजेसन र बिआइए संस्थाको सहकार्यमा राहत बाँड्न हमाल सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्र पुग्नुभएको हो । उहाले सामाजिक सञ्जालमा बाढी प्रभावित क्षेत्रको अवलोकन र राहत वितरणका तस्वीरहरू शेयर गर्नुभएको छ । ढिलो गरी भए पनि बाढीपीडितका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकोमा सामाजक सञ्जालमा शुभचिन्तकहरूले धन्यवाद भनेका छन् ।

यसअघि सोही ठाउँमा अभिनेत्री श्वेता खड्काले पनि गाडी जाने अवस्था नभएपछि हेलिकप्टरबाटै हेलम्बुका बाढीपीडितका लागि राहत सामग्री पु¥याउनु भएको थियो । सिन्धुपाल्चोकको हेलम्बुसँगै मेलम्चीलगायत अति प्रभावित ठाउँहरूमा अन्य थुप्रै कलाकारले सहयोग गर्नुभएको थियो ।