मलेसियाबाट ५२ वटा नेपालीको शव तत्काल नेपाल फर्काउन सरकारसंग सभापति पंगेनीको माग।

काठमाडौं:= वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा कार्यरत रहदा विभिन्न कारणबँस मृत्यु भएका ५२ जना नेपाली श्रमिकको मृत शव तत्काल नेपाल फर्काउन नेपाली जनसम्पर्क समिति मलेसियाले सरकारसँग जोडदार माग गरेको छ।

नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीले वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएका ५२ नेपालीको शव तत्काल स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन्।

उनले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएकाको शव तत्काल नेपाल फर्काएर परिवारलाई जिम्मा लगाउने व्यवस्था मिलाइदिन सरकारसँग पहल गरिदिन नेपाली कांग्रेस केन्दीय कार्यालयमार्फत पंगेनीले आग्रह गरेका छन् ।

अहिले हप्तामा तीन,चार दिन मलेसियाको हवाई उडान खुले पनि ती जहाजले नेपाल शव नल्याएका कारण लामो समयदेखि मलेसियाको अस्पतालमै मृतकहरुको शव थन्किएको उनले बताए । कोरोनाका कारण लामो समयदेखि उडान हुन सकेको थिएन , तर अहिले उडान खुलिसक्दा समेत सरकारले बेवास्ता गरिरहेको छ। त्यसैले चाडो भन्दा चाडो ती सबै मृत नेपालीको शव नेपाल ल्याउन सरकार गम्भीर बन्नुपर्ने सभापति पंगेनीले बताए।

तस्बिरमा जनसम्पर्क समिती मलेसियाका सभापति चोलाकान्त पंगेनी।

दूतावासले अभिभावकत्व ग्रहण गरे पनि सरकारले पहलकदमी नगर्दा शव नेपाल फर्काउन समस्या भएको उनको भनाइ छ। मलेसियामा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको भए ता पनि दूतावासको पहलमा उपचारविहीन बन्ने अवस्था नभएको उनी बताउँछन।

मलेसियन सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागी पनि भ्याक्सिन र कोरोनासम्वन्धी उपचार विना भेदभाव उपलब्ध गराईरहेकोले सबैले पाउने उनले बताए । राजनीतिक खिचातानीमा नअल्झी व्यक्तिगत इन्ट्रेस छाडेर मलेसियामा रहेका संघसंगठनलाई श्रमिकका छायाँ परेका मुद्दमा साझा धारणा बनाएर अघि बढ्न उनको आग्रह रहेको छ।