अन्ततः फुट्दै जसपा : आधिकारिकता विवाद आयोगको इजलासमा।

काठमाडौं:= जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच सहमतिको सम्भावना सकिएको छ । जसपाका अध्यक्ष  ठाकुर पक्षले आफूहरुले पार्टी एकता जोगाउन अन्तिमसम्म प्रयास गरेको जनाएको छ । ठाकुरपक्षीय नेता केशव झाले आफूहरु अझै पनि विचार–विमर्श गरेर एकतालाई जोगाऔं भन्ने पक्षमा रहेको उहाँको भनाइ छ । तर, उपेन्द्र यादव पक्षले नमानेको उहाँको भनाइ थियो ।

आज निर्वाचन आयोगमा छलफलपछि बाहिरिने क्रममा उहाँले यस्तो बताउनु भएको हो । यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन निवेदन दिएपछि आयोगले दुबै पक्षलाई बोलाएको थियो । आज भएको छलफलमा कुनै सहमति जुटेन। आजको छलफलमा दुवै पक्ष सहमत नभएकोले अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ६ अनुसारको प्रक्रिया सुरू हुनेछ ।

दफा ४४ को ६ मा ‘सहमति कायम हुन नसकेमा आयोगले उपदफा १ र ३ बमोजिमको दावी, लिखित जवाफ र प्रमाणसहितको आधारमा कुनै एक पक्षलाई मान्यता दिन सकिने रहेछ भने सोही बमोजिम र त्यसरी मान्यता दिन सकिने रहेनछ भने उपदफा १ बमोजिम आयोगमा दावी पेश गर्नुअघि त्यस्तो दलका तर्फबाट आयोगमा पेस भएको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुमध्ये जुन पक्षसँग त्यस्तो समितिका पदाधिकारी र सदस्यको बहुमत रहेको छ। त्यस्तो पक्षलाई विवाद उत्पन्न हुनुअघिको दलको हैसियत दिने र अर्को पक्षलाई छुट्टै राजनीतिक दलको रुपमा मान्यता दिई दर्ता गर्न सक्ने’ उल्लेख छ ।

अब दुबै पक्षबीच सहमति नभएकाले ऐनअनुसार पार्टीको आधिकारिकताबारे निर्णय गर्ने प्रक्रिया अगाडि बढ्ने छ। यस अघि एक पक्षले अर्को पक्षलाई पार्टी अनुशासनविपरीत काम गरेको आरोपमा कारबाही गर्ने क्रम जारी रहेसँगै विवाद निर्वाचन आयोगमा पुगेको थियो । पहिलो पटक आयोगले दुवै पक्षको कारबाहीलाई मान्यता दिएको थिएन ।

दोस्रो पटक नेताहरू काराबाहीको व्यहोरा र थप निर्णयको प्रतिलिपिसहित आयोग पुगेका थिए । यादव पक्षले बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षरसमेतका कागजात बुझाएर आधिकारिकता दाबी गरेको थियो । ठाकुर पक्षले असार १ गते नै आयोगमा आधिकारिकताका लागि कार्यकारिणी समिति हेरफेर गरेकोलगायत कागजात गरेर दाबी गरेको थियो ।