काठमाडौं := नेकपा एमालेको एकताका लागि गठन भएको कार्यदल पुनः सक्रिय भएको छ । संसद् विघटनसँगै निष्क्रिय अवस्थामा रहेको कार्यदल सर्वोच्चमा अदालतमा संसद् विघटनविरुद्धको मुद्दामा बहस सकिएसँगै कार्यदल पुनः सक्रिय भएको छ ।
संसद् विघटनपछि आ-आफ्नो अडानमा रहेका दुवै पक्षका नेताहरू औपचारिक रूपमा छलफलमा जुटेपछि सहमति जुट्नेमा नेताहरू विश्वस्त देखिएका छन् । नेपाल पक्षका वार्ता टोलीका संयोजक भीम रावलले वार्ताले सहमतिका लागि सकारात्मक सन्देश दिएको बताउनुभयो ।
औपचारिक रूपमा कुनै पनि विषयमा प्रवेश नगरिए पनि पार्टीभित्र देखिएका समस्यालाई दुवै पक्षले गम्भीर रूपमा लिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कुनै विषय वस्तुमा प्रवेश गरेनौँ । तर, पार्टीका आन्तरिक समस्यालाई गम्भीर रूपमा विश्लेषण गरेर समाधानका लागि सबैले प्रयत्न गर्ने निर्णय भएको छ ।’
नेता रावलले मंगलबार बस्ने बैठक छलफल हुनुपर्ने विषयमा केन्द्रित हुने बताउनुभयो । एमाले पार्टीको सम्पूर्ण संस्थागत प्रणालीलाई एकताबद्ध बनाउन सबै नेताहरू लागिरहेको पनि रावलले बताउनुभयो । आइतबार साँझ रावलले अध्यक्ष ओलीसँग भेट गरेपछि सोमबार वार्ताको वातावरण बनेको थियो । यसअघि वार्ताको औचित्यसमेत नरहेको बताउने नेता रावल नै वार्ताबाट समाधान आउनेमा विश्वस्त देखिएसँगै एमालेभित्र देखिएको समस्या समाधान हुने आँकलन हुन थालेको छ ।
वार्तामा सहभागी नेपाल पक्षकै अर्का नेता गोकर्ण विष्टले वार्ता सकारात्मक दिशातर्फ अगाडि बढेको बताउनुभयो । पार्टीभित्र देखिएका समस्या समाधानका लागि दुवै पक्ष सकारात्मक भएको सोमबारको वार्ता हार्दिकताका साथ सम्पन्न भएको उहाँले बताउनुभयो ।
देशभरिका कार्यकर्ता र जनता नेकपा एमालेको एकताको पक्षमा रहेको उल्लेख गर्नुहुँदै उहाँले यसअघि अनौपचारिक रूपमा भएका वार्तामा भएको सहमतिका बुँदाहरूमा छलफल भएको र सहमति नजुटेका विषयमा छलफल गर्न सबै सकारात्मक रहेको बताउनुभयो ।
‘सबै तहका कार्यकर्ता पार्टी एकताको पक्षमा रहेका छन् । आम नेपाली जनता र कार्यकर्ताको भावनाअनुसार एकता हुनुपर्छ भन्ने बैठकको निष्कर्ष हो’, उहाँले भन्नुभयो, अनौपचारिक हिसाबले २०÷२५ वटा बैठक सम्पन्न भएका थिए । अनौपचारिक रूपमा सहमतिनजिक पुगेका विषयमा आज रिपोर्टिङ भए । नमिलेका कुराहरूमा अझै छलफल गरी निषकर्षमा पुगिएको छ ।’
सोमबारको वार्ता सहमतिको वातावरण कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको पनि उहाँले बताउनुभयो ।
नेता विष्टले दुवै समूहमा रहेका सबै नेताहरू एकताका लागि सकारात्मक बनेको र इमानदार ढंगले अगाडि बढेमा एकता सार्थक हुने बताउनुभयो ।
सहमति नजुटेका विषयहरू पनि बैठकमा औपचारिक रूपमा प्रस्तुत भएको उल्लेख गर्नुहुँदै उहाँले शीर्ष नेतृत्व तहमा संवादको पहल पनि सुरु भएको बताउनुभयो ।
उहाँले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवादको वातावरण तयार गर्ने विषयमा पनि छलफल भएको बताउनुभयो । कार्यदलले नै शीर्ष नेताहरूबीच वार्ताको वातावरण बनाउने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘शीर्ष नेतृत्वमा संवादको वातावरणको वातावरण देखा परेको छ । कार्यदल औपचारिक रूपमा ब्युँतिएसँगै संवाद पनि सम्भव हुन्छ ।’
वार्तामा सहभागी ओली पक्षका नेताहरूले औपचारिक प्रतिक्रिया नदिए पनि वार्ता सकारात्मक भएको संकेत गरेका छन् ।
सर्वोच्च अदालतले नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीलाई अवैध घोषणा गरेपछि अध्यक्ष केपी शर्मा ओली पक्ष दबाबमा परेको थियो । वरिष्ठ नेता माधव नेपाल पक्षले २०७५ जेठ २ मा फर्किनुपर्ने अडान राखिरहेका बेला आयोजक कमिटी केन्द्रीय कमिटीमा रूपान्तरण भएपछि सर्वोच्चमा बुझाइएको हस्ताक्षरका विषयमा विमति देखिँदै आएको थियो ।
पार्टीका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन अध्यक्ष केपी ओली पक्षले दिएको समयसीमा सकिएलगत्तै कार्यदलको औपचारिक बैठक बसेको थियो ।
ओली पक्षले हस्ताक्षर फिर्ताका लागि सोमबार साँझसम्मको अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिएसँगै वार्ता टोली सक्रिय भएपछि एमाले एकताको सम्भावना जीवित देखिएको हो । सर्वोच्च अदालतमा दायर रिटमा समेत बहस सकिएर फैसलाको मिति तोकिएसँगै अब हस्ताक्षरको विषयले वार्तामा बाधा नपु¥याउने एमाले नेताहरू बताउँछन् । फैसला जस्तोसुकै आए पनि एमाले अब एकताबद्ध हुने एमाले नेता कार्यकर्ताहरूको विश्वास रहेको छ ।
अध्यक्ष ओली र नेता नेपालबीच जेठ २ गतेको वार्तापछि विवाद समाधान गर्न दुवै पक्षबाट पाँच–पाँच जनाको कार्यदल बनाइएको थियो । तर, राष्ट्रियसभाको उपनिर्वाचन र ओली पक्षले माधव पक्षका नेताहरूलाई गरेको कारबाहीपछि कार्यदल निष्क्रिय भएको थियो ।
कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ । खनाल–नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहनुभएको छ । कार्यदलको अर्को बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्नेछ।




















