रहस्यम सुजिताको मृत्यु।

दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न कांग्रेस, महिला समूहलगायत संघसंस्थाको माग

चितवन := चितवनको राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु रहस्यमय भएको छ । वेपता भएको १० दिनपछि शव फेला परेपछि सोमबार स्थानीयहरूले घटना छानबिनको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे । प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गराएका हुन् । युवती हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै उनीहरूले सोमबार प्रहरीविरुद्ध नाराबाजी गर्दै राजमार्ग बन्द गरेका हुन् ।

असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँड्नुभएकी सुजिता सोही दिनदेखि हराउनुभएको थियो । उहाँले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताउनुभएको परिवारका सदस्यले बताउँदै आएका छन् । जंगलमा च्याउ टिप्न गएका स्थानीयवासीहरूले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको थियो । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा फेला परेको शवको सुजिताका आफन्तले पहिचान गरेका थिए ।

यस घटनालाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गर्नुभएको छ । मुलुकका विभिन्न भागमा महिलाउपर अनेक प्रकृतिका हिंसा र हत्याका घटना पटक–पटक भएको उल्लेख गर्दै उहाँले विज्ञप्तिमा यो प्रवृत्तिलाई निरुत्साहित गर्न र सामाजिक परिवर्तनका लागि गम्भीर राष्ट्रिय विमर्श गर्न जरुरी भइसकेको बताउनुभएको छ । उहाँले यस्ता घटनाहरूको गहिरो अनुसन्धान र कारबाहीका लागि राज्य प्रशासनको गम्भीर तदारुकता पनि झनै विशेष बन्न र बनाउन अत्यावश्यक भएको उल्लेख गर्नुभएको छ । उहाँले यो घटनाको गहिराइमा पुगेर अनुसन्धान गर्न माग गर्दै यसमा सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

यस्तै, यो घटनालाई लिएर महिला सुरक्षा दबाब समूह नेपालले पनि एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासन र राज्य संयन्त्रले देखाएको उदासिनताप्रति ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कसैको दबाबमा परी अनुसन्धानमा प्रहरी प्रशासन र राज्य संयन्त्रले देखाएको उदासिनताप्रति महिला सुरक्षा दबाब समूह सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ । यस्तै, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मुलुक यतिबेला कोभिड–१९को कारण लकडाउनमा रहेको र जनताहरू सबैजना घरभित्र रहेको अवस्थाको नाजायज फाइदा उठाउँदै महिला एवं बालिकाहरूमाथि लगातार हिंसा बढिरहेको छ । घरबाट निस्केर हिँडेका महिला एवं बालिकाहरू सकुशल फर्कन्छन् भन्ने कुनै ग्यारेण्टी हुँदैन । विभिन्न वहानाले वा जबरजस्ती यौनशोषण गर्ने, बलात्कार गर्ने र हत्या गर्ने जस्ता आपराधिक कार्यहरू दिनदिनै शृंखलाबद्ध रूपले वृद्धि भइरहेका छन् । यसबाट राष्ट्रको इज्जतमा आँच आएको छ भने सम्पूर्ण नेपालीहरूको शिर लज्जाले निहुरिएको छ । यस्ता आपराधिक कार्यको महिला सुरक्षा दबाब समूह भत्र्सना गर्दछ।’

चितवनको पछिल्लो घटनालाई लिएर समूहले तदारुकताका साथ पोष्टमार्टम गरी अनुसन्धान कार्यलाई तीव्रताका साथ अगाडि बढाई अपराधीहरूलाई अदालतको कठघरामा पु¥याई हदैसम्मको सजाय दिलउन पनि माग गरिएको छ । समूहले सर्वसाधारण जनताको जिउ धनको सुरक्षाको प्रत्याभूति गर्न, गाउँघर, बस्ती र टोलटोलमा घुम्ती प्रहरी टोलीको समेत व्यवस्था गर्न सम्बन्धित निकाय, प्रहरी प्रशासन एवं नेपाल सरकारसँग माग गरेको छ । यस्तै, अन्य सरोकारवाला संघसंस्थाले पनि यो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।