रहस्यमय मृत्यु भएको अवस्थामा सुजताको शव फेला,घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै प्रदर्शन।

चितवन := चितवन जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको छ। आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव फेला परेको हो ।

उनी असार ११ गतेदेखि हराइरहेकी थिईन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेकोे छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले शव नजिकै बोतलमा सेतो पदार्थ भेटिएको र शव नउठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो । घटनाको अध्ययनकै लागि शव नउठाइएको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे अनुसन्धान गरिरहेको बताउँदै भन्नुभयो, ‘सूक्ष्मरूपमा त्रुटिरहित ढङ्गले सजगता अपनाउँदै प्रहरीले काम गरिरहेको छ ।’

घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै चितवनमा प्रदर्शन :

आज बिहानै प्रहरी, स्थानीय, जनप्रतिनिधसहितको टोली घटनास्थल पुगेर शव पोष्टमार्टमको लागि अस्पताल ल्याउन पुगेको थियो। तर स्थानीयले हत्यारा पत्ता लगाउन दबाव दिँदै शव लैजान अवरोधसमेत गरेका थिए। अहिले चितवनमा सुजताको न्यायको लागि भन्दै प्रदर्शन भइरहेको छ। प्रर्दशनकारीले ‘महिला हिंसा बन्द गर, हत्यारालाई कारबाही गरु लगायतका नाराहरु लगाइरहेका छन्।

प्रर्दशन भएपछि बाक्लो सङख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले गम्भीर तरिकाले अनुसन्धान नगर्दा घटना भएको आरोप लगाइरहेका छन्। प्रर्दशनकारीले पर्वपश्चिम राजमार्गमा समेत अवरोध गरेका छन्।

प्रहरीले अहिले जंगलमा सर्च गरिरहेको छ। शव भेटिएको स्थान नजिकै प्रहरीले खाली बट्टासमेत फेला पारेको छ। तर त्यो बट्टा के को हो? कतै पानीले बगाएर ल्याएको हो वा अन्य नै केही हो भन्ने पुष्टि भइसकेको छैन।

‘यो घटनाको हामीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं। प्रहरीको तर्फबाट कुनै पनि लापरवाही हुँदैन। तर आज शव पोस्टमोर्टमको लागि घटनास्थलबाट ल्याउँदै गर्दा स्थानीयले अवरोध गरे,’ वाग्मती प्रदेश प्रहरीका प्रमुख प्रकाश सिंह कार्कीले बताए।

शव जंगलभित्र भेटिएको हो। झ्याङमा शव अड्किएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै शव सडेको अवस्थामा छ। सुजता जंगलमा कसरी पुगिन्? के उनको अपहरणपछि हत्या नै भएको हो? वा अरु नै कारण हो भन्ने प्रहरीको अनुसन्धानबाट पुष्टि भइसकेको छैन।

‘म घटनास्थलमा नै पुगेको छु। १ घण्टा हिंडेर जंगलभित्र पुगेको हो। शव एकदमै सडेको जस्तो देखिएको छ। पानीले बगाएर ल्याएको हो की जस्तो पनि देखिन्छ। अब बाँकी प्रहरीको अनुसन्धानबाट खुल्ला,’ राप्ती नगरपालिकाका उपप्रमुख इमान सिंह लामाले भने।

मृतककी दिदीले दिएको जानकारी अनुसार सुजताको अपहरण भएको भन्ने छ। तर अपहरणकारीले कुनै पनि फिरौति रकम मागेको अहिलेसम्म प्रहरी अनुसन्धानमा खुलेको छैन। मृतक भण्डारीको परिवार आर्थिक रुपमा समान्य नै रहेको बताइएको छ।