काठमाडौं:= प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई जंगी अड्डामा सोमबार आयोजित एक कार्यक्रमकाबीच विभिन्न किसिमका ३ सय नाल हतियार तथा सोको ४२ हजार ३ सय ७० गोटा एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गर्नुभएको छ।
नेपाली सेनाले कुनै पनि मूल्य नलिई विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरी जम्मा १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन गोटा १४ लाख ९४ हजार १६ उपलव्ध गराउने नेपाल सरकार, मन्त्रिपरिषद्को २०७८ जेठ १७ गतेको निर्णयबमोजिम तीन चरणमा उपलब्ध गराउने योजना अनुसार पहिलो चरणमा ३ सय नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरिएको हो । नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनका लागि हतियार उपलब्ध गराउन नेपाल सरकारबाट उक्त निर्णय भएको थियो। सोही अनुरुप हस्तान्तरण गरिएको जनाएको छ।

उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने उक्त अवसरमा नेपाल प्रहरीले जानकारी दिइएको छ। उपलव्ध गराईएका हतियारहरुको मर्मत सम्भार तथा अपरेसन तालिम समेत नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको जनाइएको छ।

उक्त अवसरमा नेपाली सेनाको तर्फबाट हतियार तथा उपकरण महाशाखा प्रमुख महासेनानी राजेन्द्र मणि गिरी र नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभागका प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा बिच नेपाली सेनाबाट नेपाल प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण सम्बन्धि सम्झौता पत्र आदान प्रदान समेत गरिएको थियो।

कार्यक्रममा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो। जंगी अड्डा, व्यवस्था नीति तथा योजना महानिर्देशक उपरथी अनन्त कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्मा, रथीवृन्द तथा प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।




















