उदयपुर := अविरल वर्षाका कारण आएको बाढीका कारण उदयपुरको त्रियुगा नदीमा निर्माणाधीन चौदण्डीगढी-५ शिबाइ-बेल्हा जोड्ने मोटरेबल पुल भत्किएको छ । ११ वर्षपछि सम्पन्न हुन लागेको पुल शनिबार भत्किएको हो ।
यो पुल ११ स्पान २८० मिटर र साढे पाँच मिटर चौडा रहेको छ । पुलको दक्षिणतर्फको दोस्रो पिल्लर करिब एक फिट धसिन गएर बांगिँदा दुई स्पान (स्लाप) नदीमा झरेको छ । २०६७ सालदेखि निर्माण सुरु भएको पुल पाँचपटकसम्मको म्याद पछि निर्माणको अन्तिम चरणमा पुगेको थियो ।
११ करोड २७ लाख रुपैयाँको लागत रहेको पुल गाईघाट–दिक्तेल सडक आयोजनाको रेखदेखमा निर्माणकार्य भएको हो। नौ करोड ७६ लाख रुपैयाँको लागत इस्टिमेट भए पनि मूल्य समायोजन हुँदा लागत बढेको सडक आयोजनाले बताएको छ । तीन वर्षमा सम्पन्न गर्नुपर्ने पुल कहिले जमिनभित्र रहेको मुढा त कहिले डिजाइन परिवर्तन भन्दै ११ वर्ष बित्दासमेत सम्पन्न हुन सकेको थिएन ।
निर्माण कम्पनी महालक्ष्मी/लोकप्रिय जेबिको लापरबाही र ढिलासुस्तीका कारण करिब एक करोड पेनाल्टी तिरेको आयोजनाका प्रमुख गोविन्द खकुरेलले बताउनुभयो । पुल भत्किनुमा निर्माण कम्पनीको लापरबाही, कमसल निर्माण सामग्रीको प्रयोग भएको स्थानीयको आरोप छ ।




















