हिलाम्मे जोरपाटी सुन्दरीजल सडक, आश्वासन बढी काम छैन।

काठमाडौं := काठमाडौंको जोरपाटीदेखि सुन्दरीजलसम्मको सडक ठेक्का लगाएको चार वर्ष बितिसक्दा पनि बाटो बन्न नसक्नु दुःखद कुरा हो । बाटो बनाउने ठेक्का आशिष सिएम जेभीले पाएको थियो । ७५ भदौ २५ गतेभित्र बाटो तयार पार्न सम्झौता पनि भएको थियो । ५६ करोड ५१ लाख ३५ हजारमा ठेक्का लगाइएको उक्त बाटो आजसम्म बन्न सकेको छैन ।

स्थानीय सरकारको प्राथमिकतामा परेको उक्त बाटो अहिलेसम्म किन बन्न सकेन चौतर्फी आवाज गुञ्जिएको छ । समयमा बाटो नबनाउने ठेकेदारलाई कारबाहीको साटो समय थपिएको छ । थपिएको समयमा पनि बाटो भने बनेको छैन् । बाटो नबनेका कारण स्थानीयलाई हिँड्न सारै समस्या भएको छ । ‘गोकर्णेश्वरका मेयर सन्तोष चालिसेले एक वर्ष अघि नै बाटो तयार हुन्छ भन्नुभएको थियो । तर, अहिलेसम्म बाटो बनेको छैन । हामीले नगरपालिकाले भनेको जति नै बाटो छोड्न पनि तयार भयौं । तर, पनि बाटो बन्ने छाटकाँट देखिएन । बाटो नबनेकाले हिँड्डुल गर्न गाह्रो भएको छ’, स्थानीय श्री कृष्णले हिमालय टाइम्ससँग भन्नुभयो ।

यता, मेयर सन्तोष चालिसेले भने बाटो बनाउने काम भइरहेको बताउनुभएको छ । कोरोनाको साथै विभिन्न अवरोधका कारण बाटो बन्न ढिला भएको होे अब केही समयमा नै बाटो तयार हुने उहाँ बताउनुहुन्छ । स्थानीयले एक वर्ष अगाडि नै बाटो बनाउन नगरपालिकालाई दबाब नदिएका पनि होइनन् । तर, नगरपालिकाले त्यसलाई वास्ता नगर्दा बाटो निर्माण अलपत्र परेको हो । नगरपालिकाले बाटो बनाएन भने आफूहरू प्रशासनमै ताला लगाउन बाध्य हुने छाहारी क्लबका अध्यक्ष कुमार श्रेष्ठले भन्नुभयो ।

सडक विभागले २४ मिटर कायम गर्न भने पनि नगरपालिका स्थानीयबासी विभिन्न राजनीतिकर्मीहरू बसेर बाटो १४ मिटर कायम गरेर पिच गर्ने भन्ने सहमति भएको चार वर्ष नाघिसक्दा पनि बाटो पिच हुन सकेको छैन ।