कपिलवस्तु := छोराले विदेशमा राम्रो काम नपाएपछि उनका बुवाले वैदेशिक रोजगारीमा पठाउने ‘एजेन्ट’लाई योजना बनाएरै गोली हानी हत्या गरेका छन्। कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
विजयनगर गाउँपालिका-१ का ५० वर्षीय पशुपति कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई कपिलवस्तु नगरपालिका-१० नेपाल-भारत सिमाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए। २०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गोली हानी हत्या गरिएको थियो। हत्यापछि भागिरहेका कुर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि हिरासत लिइएको भण्डारीले बताए।
गोली हानेपछि हल्लाखल्ला भएर गाउँले भेला भएका थिए। गाउँलेलाई लक्षित गरी उनीहरूले विस्फोटक पदार्थ पड्काएर मोटरसाइकल चढेर भागेको भण्डारीले बताए। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए। कुर्मीलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको भण्डारीले बताए।
source : सेतोपाटी




















