एजेन्सी := यूईएफए युरो कप अन्तर्गत राती सम्पन्न क्वाटरफाइनलको पहिलो खेलमा स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ। रसियाको सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले हराउँदै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
निर्धारित ९० मिनेटको खेल १ – १ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा बाजी मार्दै स्पेनले जित हात पारेका हो।
पेनाल्टीमा स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे। स्पेनका सर्जियो बुस्केट्सले गरेको सुरुकै पेनाल्टी प्रहार पोस्टमा लागेर फर्किदा रोड्रीको प्रहार स्विजरल्याण्डका गोलकिपर यान सोमेरले बचाएका थिए।
पेनाल्टीमा स्विट्जरल्यान्डका खेलाडीको प्रर्दशन भने फितलो रह्यो। पेनाल्टी प्रहार गरेका खेलाडीमध्ये मारियो गाभ्रानोभिचले मात्र गोल गरे। फाबियन, अकान्जीको फितलो प्रहार स्पेनिस गोलकिपर सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो।
पेनाल्टी सुटआउटमा जानु भन्दा पहिले खेल १ – १ को बराबरीमा सकिएको थियो।स्पेनले डेनिस जकरियाको आत्मघाती गोलमा सुरुवाती अग्रता बनाएको थियो। स्जिरल्याण्डका लागि कप्तान छेरदन शकीरीले एक गोल फर्काए।
स्पेनले उपहार गोलको मद्दतमा पहिलो हाफमा अग्रता बनाएको थियो। खेलको आठौँ मिनेटमा जोर्डी अल्बाले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार स्विजरल्याण्डका डेनिस जकरियासँग डिफलेक्ट हुँदै गोल भएको थियो।
उक्त उपहार गोलमा स्पेनले खेलको पहिलो हाफमा १ – ० को अग्रता लिएको थियो।दोस्रो हाफको ६८ औं मिनेटमा छेरदन शकीरीले गोल गर्दै स्विजरल्याण्डलाई खेलमा फर्काएका थिए। स्पेनको डिफेन्सको गल्तिको फाइदा उठाउँदै रेमो फ्रिलरले दिएको पासमा शकीरीले गोल गरेका थिए।
रेमो फ्रिलरले रेड कार्ड पाएपछि स्विजरल्याण्ड १० खेलाडीमा सिमित भएको थियो। फ्रिलरले खेलको ७७ औं मिनेटमा विपक्षी खेलाडीलाई अनावश्यक फउल गरेपछि रेडकार्ड पाएका थिए।
स्विजरल्याण्डले निर्धारित समयमो अन्तिम १५ मिनेट र अतिरिक्त समय ३० मिनेट गरी करिब ४५ मिनेट १० खेलाडीमा सिमित भएर खेलेको थियो। तर, स्विजरल्याण्डका गोलकिपरले उत्कृष्ट प्रर्दशनको मद्दतमा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
यो जितसँगै स्पेन युरो २०२० को सेमिफाइनल पुग्ने टोलि बनेको छ। स्पेनले फाइनल प्रवेशका लागि अब बेल्जियम र इटालीबीचको विजेतासँग प्रतिस्प्रधा गर्ने छ।हारसँगै पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्विजरल्याण्ड प्रतियोगिताबाट बाहिरीएको छ।




















