उत्तर कोरियामा खाद्य संकट, गर्भवती महिला र बालबालिका बढी प्रभावित।

एजेन्सी:= संयुक्त राष्ट्रसंघले उत्तर कोरियामा बढ्दै गएको खाद्यसंकटप्रति चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघको सुरक्षापरिषदले कोरोना महामारीका कारण चीनसँगको सीमा बन्द रहेकाले उत्तर कोरियामा भोकमरी सुरु भएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

लामो समयको खडेरीका कारण उत्तर कोरियामा सन् १९९० को दशकको भोकमरी पुनरावृत्ति हुने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठकमा पनि आफ्नो मुलुकले खाद्यान्नको थप संकट व्यहोर्नुपर्ने स्वीकारेको केही दिनअघि सार्वजनिक भएको थियो । त्यहाँको सरकारी सञ्चारमध्यमका अनुसार गत वर्ष मौसम प्रतिकूल नहुँदा कृषिमा अपेक्षा अनुसारको उत्पादन नभएकाले खाद्य संकट देखा परेको हो ।

लण्डनस्थित एसओएस विश्वविद्यालयले गरेका एक अध्ययन अनुसार उत्तर कोरियामा भोकमरीका कारण गर्भवती महिला, बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । यसअघि राष्ट्रसंघीय खाद्य कार्यक्रमले पनि सहायता दिँदै आएको थियो ।