एजेन्सी := जारी १६औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल खेल आज शुक्रबारबाट सुरु हुँदैछ ।क्वार्टरफाइनल अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा स्विजरल्याण्ड र स्पेन भिड्दै छन् । रसियाको गाजप्रोम एरेनामा हुने स्विजरल्याण्ड र स्पेनबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम चारमा पुग्न चाहन्छन् ।
स्विजरल्याण्ड नक आउट चरणमा साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । स्विजरल्याण्ड उत्कृष्ट लयमा रहेको छ । यता, स्पेनले पनि नक आउट चरणमा क्रोएसियामाथि रोमान्चक जित हात पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । स्पेनले क्रोएसियालाई ५-३ गोल अन्तरले हराएको थियो ।
युवा खेलाडीको बाहुल्यता रहेको दुवै टिम अहिलेसम्म २२ पटक आमुनेसामुने भएका छन् । जसमा स्पेन १६ पटक विजयी भएको थियो भने स्विजरल्याण्ड १ पटक विजयी भएको थियो। ५ खेल बराबरीमा रोकिएको थियो ।

आजै हुने दोस्रो खेलमा बेल्जियम र इटाली भिड्दैछन् । जर्मनीको रलियान्जा एरेनामा खेल नेपाली समयानुसार राती १२ः४५ बजे सुरु हुनेछ । दुवै टोली यो पटककको उपाधि दाबेदार मानिएको छ । बेल्जियम नक आउट चरणमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । बेल्जियम राम्रो लयमा रहेको छ ।
यस्तै, इटाली पनि उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलमा पुगेको हो । नक आउट चरणमा अस्ट्रियालाई २१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा बेल्जियमसँग भिडन्त पक्का गरेको हो । बेल्जियम र इटालीबीच अहिलेसम्म २२ पटक प्रतिस्पर्धा भएको छ । जसमा इटालीले १४ खेल जितेको छ भने बेल्जियमले ४ खेल । ४ खेल बराबरी खेलेका छन् ।





















